मन्त्रीको संख्या थप्दै सरकार



काठमाडौं
नेताको व्यवस्थापन गर्न सरकारी सेवा–सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन्। केन्द्र र प्रदेशमा गरी देशमा छ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् ।

संविधानको व्यवस्था अनुसार केन्द्र सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ। प्रधानमन्त्री सहित २२ सदस्य नियुक्त भइसकेका छन्। प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि तीन मन्त्री थप्ने तयारी छ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन ओलीले पहल गरिरहेका छन्। सबै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन्। सात प्रदेशमा अहिलेसम्म ४९ मन्त्री नियुक्त भइसकेका छन्।

केन्द्र र प्रदेश गरी हालसम्म ७१ मन्त्री नियुक्त भइसकेका छन्। सरकारमा समेट्न नसकेका नेताहरूको व्यवस्थापनका लागि धेरै संसदीय समिति बनाउने सत्तारुढ दलहरूको योजना छ।

संघीय संसद्मा १४ र सात वटै प्रदेशसभाका गरी ३५ संसदीय समिति बनाउने तयारी छ। प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा चार समिति बनाउने तयारी सुरु भएको छ।

यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । संसदीय समितिका सभापतिले राज्यमन्त्री सरह सुविधा पाउने व्यवस्था छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्