नालापानीमा यसरी उत्रियो अंग्रेज रक्षक



सैघाली खबर
काठमाण्डौ , १९ चैत । अहिले ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ । नारायणहिटी दरबार संग्रहालयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा अंग्रेज फौजको छायांकन गरिएको थियो । छायांकनमा नेपालीसँग युद्ध लड्न आउँदै गरेको अंग्रेज फौज खिचिएको थियो । नेपाली सेनाबाट प्राप्त ५० वटा घोडा र करिब तीन सय हतियारसहितको फौज मैदानमा उतारिएको थियो ।

यो दृश्य भीएफएक्सको माध्यमबाट हजारौंको संख्या देखाइने निर्देशक रिमेश अधिकारीले बताए । उक्त दृश्य छायांकनमा पाँचवटा क्यामेरा प्रयोग गरिएको थियो । भीएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टिम तथा भीएफएक्स टिमसँगै रहेर काम गरिरहेका छन् ।

निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथबिना यो चलचित्र छायांकन सम्भव नहुने बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रति कृतज्ञ छौं । सम्भवतः नेपालमा यसरी छायांकन गरिएको यो नै पहिलो चलचित्र हो । यो सबै नेपाली सेनाकै देन हो ।’ चलचित्रका निर्माता मनोज शाक्यले नेपालीको वीर गाथासँग जोडिएको चलचित्रलाई नेपाली सेनाले साथ दिएकोमा खुसी व्यक्त गरे ।

काठमाडौं र आसपासमा छायांकन सकिएपछि चलचित्र युनिट दाङगढी पुग्नेछ । निर्देशक अधिकारीका अनुसार चलचित्रको छायांकन करिब तीन महिनासम्म लगातार चल्नेछ ।

हाल भारतमा रहेको देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्ध युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो आधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो ।

त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाली सेनाका कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।

कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाइँ गर्दा गर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो ।

यसै विषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्राडा धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको छ ।

यो चलचित्रको बजेट नौ करोड रहेको छ । ‘नालापानी’ मा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता विष्टलगायतका कलाकारको अभिनय रहनेछ ।

पद्मा कुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मजोन शाक्य र नितिशा शाक्य निर्माता रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्वनिर्देशक हुन् । विपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भीएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्