मन्त्रिपरिषद्ले यस्ता गर्‍यो निर्णय



सैघाली खबर,

चैत २० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीले तीन दिन भारतको राजकीय भ्रमण गर्ने औंपचारिक निर्णय गरेको हो। प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यहरूको संख्या भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तय गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए।

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक र वेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि प्रतिस्थापन विधेयक संसदमा टेबल गर्ने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद बैठकले भुक्तानी तथा फर्स्यौट विधेयकको सैद्धान्तिक अवधारणा पनि स्वीकृत गरेको छ। भुक्तानीका लागि आवश्यक ऐन निर्माणका लागि अर्थ मन्त्रालयले तयार पारेको उक्त सैद्धान्तिक अवधारणा स्वीकृत गरिएको पनि राज्यमन्त्री बास्कोटाले बताए।

सरकारले विधेयक तयारी सहजीकरण समितिको सदस्यमा पूर्व कानुन सचिव कमलशाली घिमिरेलाई नियुक्त पनि गरेको छ। त्यसैगरी न्यूजिल्याण्ड वाटर म्यानेजमेन्ट परियोजनाका लागि एशीयाली विकास बैंकले उपलब्ध गराउने १ अर्ब अनुदान सहायता लिने प्रस्ताव पनि अनुमोदन गरिएको छ।

विभिन्न परीक्षाहरू समेत चालू रहेकाले असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रुपमै संचालन गर्ने अन्तरिम व्यवस्था पनि सरकारले गरेको छ। चालू बजेट, नीति र कार्यक्रम भित्रै रहेर असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रहने निर्णय गरिएको पनि राज्यमन्त्री बास्कोटाले बताए। अन्य संरचना भने आगामी चैत्र २८ गतेबाट खारेज हुनेछ। सरकारले नेपाल विकास समिति गठन आदेश पनि स्विकृत गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्