आर्थिक विकासमा सहकारी महत्वपुर्ण रहने चौधरी



सैघाली खबर
देउखुरी २० चैत

राप्ती गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीले देशको आर्थिक विकासमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् । जिल्ला सहकारी संघ दाङको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा मंगलवार देउखुरीको मसुरीयामा आयोजित दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ ६१ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका चौधरीले सहकारीको १७ सिद्धान्तलाई अनुशरण गर्न सके मात्र दिगो विकास हुने बताएका थिए । त्यसै गरी कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले सहकारीको माध्यमबाट सामाज रुपान्तरण हुने बताएका छन् ।

उनले आगामी दिनमा यस्ता किसिमका कार्यक्रमलाई अझ भव्यताका साथ लैजान सुझाव समेत दिएका छन् । साथै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहकारी शिक्षालाई सुगम क्षेत्र भन्दा दुर्गम क्षेत्रमा सञ्चालन गरी त्यहाँका नागरिकहरुलाई सहकारीमा आवद्ध गराउनु पर्ने बताएका थिए ।

भुमि,कृषि तथा सहकारी कार्यालयका प्रमुख हेमराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाका अध्यक्ष रुक्मांगत ज्ञवाली,इच्छुक स्मृति कृषि सहकारी संस्था लालमटियाका अध्यक्ष भिर्माजुन सुवेदी र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले बोलेका थिए ।

साथै कार्यक्रममा आयोजित आर्थिक विकासका लागि सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा समय बचत तथा ऋण सहकारी संस्था भालुवाङकी चन्द्रकला भट्टराई प्रथम, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका लक्ष्मण पौडेल दोस्रो, नयाँ समाज कृषि सहकारी संस्था मसुरीयाका दिपक खनाल तेस्रो तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाका सोवितजंग शाही र भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था मसुरीयाकी गिताञ्जली मल्लले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीले गरेकी थिइन् । वि.सं. २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् । रोजगारी सिर्जना, गरिबी न्युनीकरण र देशको ग्राहस्थ उत्पादन तथा राजश्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएका मध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्