माओवादी संसदीय दलको बैठकमा यस्तो भने प्रचण्डले



सैघाली खबर,
काठमाडौं २१ चैत्र। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका छन् । बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका हुन् ।

बैठकमा प्रचण्डले भने ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताए । उनले भने ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

‘भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन’, अध्यक्ष प्रचण्डले भने ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।’

अध्यक्ष प्रचण्डले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्