नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच नेता कार्यकर्ता रिहा भएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको अभियोग लगाएर गिरफ्तार गरिएका नेकपाका नरेन्द्र विक, भरत शाह, कमल क्षेत्री, हृदयराज बोगटी र पुरण खनाललाई आज कैलाली जिल्ला अदालतको आदेशमा रिहा गरिएको हो ।
निजहरुलाई चौधरीकी श्रीमतीको उजुरीको आधारमा भन्दै प्रहरीले फागुन र चैत महिनामा विभिन्न मितिमा, विभिन्न समयमा घर र कार्यक्षेत्रबाट गिरफ्तार गरेको थियो । उनीहरुमाथि लगाइएको अभियोग झुटा सावित भएको छ ।
अदालतमा बयान दिने क्रममा घाइते मेयर चौधरीले आफुमाथि गोली हान्नेहरु आफूले नचिनेको र गिरफ्तार गरिएकामाथि घटनाको शंका नलागेको बताएपछि अदालतले अभियुक्त पाँचै जनालाई तत्काल रिहा गर्न आदेश दिएको जानकारी प्राप्त भएको हाम्रा प्रतिनिधिले बताएका छन् ।
चौधरीमाथि गत फागुन २७ गते राति करिब ९ बजेतिर घरनजिकै गोली र खुकुरी प्रहार भएको थियो ।
स्थानीय राधा चौधरीलाई बोक्सीको आरोपमा ‘धामी’रामबहादुर चौधरी र उनका सहयोगीसहितले सार्वजनिक रुपमा मान्छे भेला गराएर चरम कुटपिट गर्दै गम्भीर घाइते बनाएको घटनालाई ढाकछोप गर्न मेयर चौधरी स्वयम् लागेको भन्दै सर्वत्र आलोचित भएका थिए ।
त्यसपछि नेकपाले एक प्रेस विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको थियो ।
साथै सोही घटनालाई लिएर एमालेका उम्मेदवार बनेर मेयर जितेका चौधरीको सार्वजानिक रुपमा आएको अभिव्यक्ति र चरित्रबारे छानबिन गर्न जिल्ला स्तरमा छानबिन समिति समेत गठन गरिसकेको छ ।
आफ्ना नेता कार्यकर्ताहरुलाई झुटा आरोपमा गिरफ्तार गरेर हिरासतमा राखिएको भन्दै नेकपा कैलालीले एक प्रेस विज्ञप्तिमार्फत बन्दीहरुको तत्काल बिनासर्त रिहा गर्न चेतावनी दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।