सैघाली खबर
काठमाडौं,२३ चैत
प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदैछन् । ३ फागुनमा प्रधानमन्त्री भएयता ओलीको यो पहिलो विदेश भ्रमण हो ।
तीनदिने भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । साढे १२ बजे होटल ताज प्यालेसमा प्रधानमन्त्री ओलीले त्यहाँका व्यवसायीसँग विजनेस मिटिङ गर्नेछन् । साँझ साढे सातबजे नेपाली दूतावासमा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
शनिबार भने प्रधानमन्त्रीको महत्त्वपूर्ण भेटवार्ता हुनेछ । बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् भने साढे ११ बजे भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग उनको भेटवार्ता हुनेछ ।
साँझतिर भारतीय उपराष्ट्रपति, गृहमन्त्री, अर्थमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
आइतबार भने प्रधानमन्त्री ओली उत्तराखण्ड जानेछन् र त्यहाँको युनिभर्सिटी अफ् एग्रिकल्चर एण्ड टेक्नोलोजीले दिने मानार्थ महाविद्यावारिधी ग्रहण गर्नेछन् र सोही दिन राति ८ बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण विशुद्ध द्विपक्षीय सम्बन्ध सुधारका लागि हुने र नयाँ सन्धि–सम्झौतामा हस्ताक्षर नहुने प्रष्ट्याइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।