भारतले भन्यो, “चिनियाँ लगानीको बिजुली किन्दैनौं”



प्रधानमन्त्री केपी शर्माओली भारत भ्रमणमा रहेकै बेला भारत तथा नेपालमा विविध टिप्पणीहरु भइरहेका छन् ।

नागरिक दैनिकका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुमा चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार छापिएका छन ।

शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ । इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिर सहितको समाचार प्रथम पृष्ठमा छापेको छ ।

इन्डियन एक्सप्रेसले इफ चाइना बुल्ड युअर ड्याम, इन्डिया उड नट बाई इनर्जी शीर्षक दिएर एक कोलमको समाचार लेखेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिनसक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने बताउने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि समाचारमा उल्लेख छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको अखबारले उल्लेख गरेको छ ।

चीनतर्फ नढल्किएको ओलीको भनाई

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीनतर्फ नढल्किएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्