नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच आइतबार कैलालीमा झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकपा कार्यकर्ता घाइते भएको बताइएको छ ।
दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको छ ।
आफुहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको नेकपाले जनाएको छ । बिहिबार नेत्र बिक्रम चन्द ‘विप्लव’, मोहन वैद्य, मोहन विक्रमसिंह र ऋषिराम कट्टेल नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
बिहिबार ४ कम्युनिष्ट पार्टीले संयुक्तरुपमा शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय अनुसार सनिबार देशभर शान्तिपूर्ण बिरोध प्रदर्शन गरिएको हो ।
बिहिबार बसेको चार दलको बैठकले नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्ने आधार तयार पार्न बहस र छलफललाई निरन्तरता दिँदै तत्काललाई संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।
बैठकपछि चारै दलका नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्माओलीको आसन्न भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतबीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने तयारीको विरोध गर्ने जनाइएको थियो।
चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्त रुपमा उदघाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने, शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने र वैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेका थिए ।
यता काठमाण्डौमा आयोजना गरिएको सभा भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सहभागी नेताहरुले आफूहरुले आफूहरुले चैत्र २४ लाई जनताको गणतन्त्रकोलागि संघर्षको रुपमा मनाउने बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रिषी कट्टेलले राजतन्त्र हटेपनि गणतन्त्रको नाममा उदाएका नयाँ सामन्तहरुको कारण जनताले अर्को संघर्ष गर्नु परेको विचार व्यक्त गरे । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपाली शासकहरुकै कारणले भारतले नेपाललाई सँधै हेपेको धारणा राखे । उनले केपी शर्माओलीले नेपालको अरुण तश्रो जलविद्युत आयोजना भारतलाई सुम्पन लागेको प्रशंग उल्लेख गर्दै यस्तो राष्टघाती कदम रोक्न सबै राष्टवादीहरु एकजुट हुनुपर्ने बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य अनिल शर्माले आफ्नो पार्टीलाई ओली सरकारले दमन गरेको प्रशंगमा निहत्था कार्यकर्तालाई जेल सार्ने नाममा फेरि पक्राउ गरेको भन्दै तत्काल रिहा नगरिए अझ शसक्त प्रतिरोधको कार्यक्रम गर्ने चेतावनी दिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिट्ब्याूरो सदस्य रामसिंह श्रीषले मालिकको खुट्टा पुजेर जनतामाथी दमन गर्ने नीति बलिदान गरेरपनि रोक्ने दाबी गरे ।
उता अछाममापनि शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ । विशाल जनसभा चिलरहेको बेला प्रहरीबाट हस्तक्षेप भएको हो । नेकपाका केन्द्रीय सदस्य रामकृष्ण तिमिल्सेना प्रमुख अतिथि रहेको कार्यक्रममा प्रहरीले एक्कासी बल प्रयोग गरेर जनसभालाई बिथोल्ने काम गरिएको जानकारीमा आएको छ ।
सेतीमहाकाली जनपरिषद प्रमुख धनबहादुर मल्लले दलाल पुँजीवादी व्यवस्था खारेज गर्न माग गरेका छन् । कार्यक्रममा धारणा राख्दै अछाम जिल्ला ईन्चार्ज शेरबहादुर विकले प्रहरी दमनको भत्सर्ना गरे र दमनले जनविद्रोहलाई रोक्न नसक्ने चेतावनी दिए । चैत २४ को जनआन्दोलनको सन्दर्भ पारेर शनिबार नेकपाले उक्त जनप्रदर्शनको आयोजना गरेको थियो । उता तनहुँ झापा पोखरा बुटवल लगाएतका स्थानहरुमा भने जनआन्दोलन दिवश भव्यरुपमा सम्पन्न भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।