विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा



 

सैघाली खबर

रुकुम पश्चिम, चैत २५ – स्वास्थ्य बीमा तथा उपचार कार्यक्रम अन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

नागरिक स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

१० वडा रहेको त्यस गाँउपालिकाले स्वास्थ्य बीमा गराउनका लागि विपन्न परिवारको घरधूरी पहिचान गरिरहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो । ‘विपन्न परिवारहरुबाट निवेदन संकलन गरिएकाले सम्बन्धित वडा कार्यालयले त्यसको छानविन गरिहरेको छ’, अध्यक्ष केसीले भन्नुभयो, ‘निश्चित मापदण्ड निर्माण गरिएको र त्यसकै आधारमा घरधूरी छनौट भैरहेको छ ।’

गाउँपालिकाको बीमा कार्यक्रमबाट करिब तीन सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा हुने बताइएको छ । गाउँपालिकामा रहेका तीन हजार सात सय ४७ घरपरिवार मध्ये ८ प्रतिशत विपन्न परिवारको स्वास्थ्य बीमा निःशुल्क गराउने गरी निर्देशिका र बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । विपन्न घर परिवारको स्वास्थ्य बीमा गराउन गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ लाख रुपैंयाँ विनियोजन गरेको छ । पहिलो गाउँसभाले स्वास्थ्य बीमाका लागि बजेट सर्वसम्मत पारित गरेको थियो ।

गएको फागुन २७ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सामाजिक स्वास्थ्य सुरक्षा समितिले रुकुम पश्चिमका ७३ जना दर्ता सहयोगीलाई तालिम दिएर स्वास्थ्य बीमाको लागि खटाइसकेको छ ।

विपन्न परिवारलाई गाउँपालिकाको तर्फबाट अनिवार्य निःशुल्क स्वास्थ्य बीमा गरिदिने र अन्य परिवारलाई सरकारले राष्ट्रिय रुपमा सामाजिक स्वास्थ्य सुरक्षा समिति मार्फत सञ्चालन भैरहेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बनाउने लक्ष्य राखिएको बाँफिकोट गाउँपालिकाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्