प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिले नै सफल भन्न सकिन्नः प्रकाशमान सिंह, नेता नेपाली काँग्रेस



काँग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्माओलीको भारत भ्रमणलाई अहिले नै सफल भन्न नसकिने बताएका छन् । उनले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएभने मात्र भ्रमण सफल भएको मान्न सकिने नेता सिंहको तर्क छ ।
नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भएको बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको तर्क गरे । ‘विगतमा उहाँको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,’ कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक समर्थन गर्ने तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने बताए । उनले आफ्नो पार्टीको प्रशंगमा तीन वटै चुनावमा पार्टीले हार बेहोर्नु पछाडि मूलरुपमा पार्टी नेतृत्व दोषी रहेको कुरा आफूले लिखितरुपमै राखेको स्मरण गराएको बताए ।

देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको २ महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभागहरु गठन हुन नसक्नु पनि पार्टी हारको कारण रहेको उन को भनाई रहेको छ ।
कांग्रेसलाई कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन, सांगठानिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको पनि सिंहले स्पष्ट पारे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्