सैघाली खबर,
काठमाडौं, २७ चैत्र
सत्तासाझेदार दलबीच नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षकबारे सहमति हुन नसकेपछि नियुक्ति प्रक्रिया लम्बिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका मन्त्रीबीच नेपाल प्रहरीको महानिरीक्षकमा डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की मध्ये कसलाई लैजाने भन्नेमा सहमति हुन नसकेको हो ।
प्रहरी महानिरीक्षकमा देखिएको अन्योलका कारण सशस्त्र प्रहरीको महानिरीक्षक प्रक्रिया समेत लम्बिएको छ । एआईजी शैलेन्द्र खनाल सशस्त्रको महानिरीक्षक बन्ने लगभग पक्का छ । नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजीपी सिंहबहादुर श्रेष्ठले ३० बर्षे सेवा हदका कारण भोलिबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्तिको तयारी थालेको हो ।
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहाना फरक परेपछि आज विहान बसेको मन्त्रिपरिषद् बैठकबाट आईजीपी नियुक्ति टुङ्गोमा पुग्न नसकेको स्रोतले जनायो । आईजीपी नियुक्ति गर्न आजै प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापाबीच पनि छलफल भएको छ । खनाल, खरेल र कार्की गत असार ३० गते एसएसपीबाट डीआईजीमा बढुवा हुनुभएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।