सातै प्रदेशका सांसदको तलब बराबर हुनेगरि नमुना कानुन प्रस्ताव



सैघाली खबर,
काठमाडौं, २७ चैत्र

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सातै प्रदेशका सांसदको तलब बराबर हुने गरि दुई वटा नमुना कानुन विधेयक पठाएको छ । प्रदेश सांसदको तलब ४५ हजार प्रस्ताव गरि नमुना कानुन मन्त्रालयले प्रदेश सरकारलाई पठाएको हो ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सातवटै प्रदेशलाई पठाइएको मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले जानकारी दिनुभयो ।

पठाइएको विधेयकमा सभामुखको मासिक ५३ हजार, उपसभामुखको ५० हजार तथा समिति सभापति र सचेतकको ४८ हजार तथा प्रदेशसभाका सदस्यको ४५ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ । नमूना कानूनमा प्रस्ताव गरिएको सुविधालाई प्रदेशसभाले थपघट गर्न सक्ने र पठाइएका विधेयकलाई प्रदेशसभाले स्वीकृत गरी लागू गर्नसक्ने सहप्रवक्ता केसीले बताउनुभयो ।

यसअघि मन्त्रालयले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा मुख्यमन्त्रीको ६० हजार ९ सय ७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायकमन्त्रीको ४७ हजार सुविधा तोकेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्