प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो व्यवहारका कारण माओवादी केन्द्रमा नेताहरुका मनमा शंका उब्जाएको छ ।
जसका कारण एमाले माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता पर सर्ने सम्भावना बढेको छ ।
सत्ता साझेदार भनिएपनि प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि माओवादी केन्द्रका मन्त्रीसँग सल्लाह नै नगरी ३० जना सचिवलाई सरुवा गरेको भन्दै माओवादी सशंकित भएको हो।
माके तर्फका मन्त्रीहरूले यही विषयमा पार्टी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरिसकेका छन्। एकलौटी ढंगबाट निर्णय गर्दा ओलीप्रति क्रमशः विश्वास गुम्दै गएको माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन् ।
एक नेताले भनेका छन्, प्रधानमन्त्रीको यो निर्णयले हामीलाई केही सचेत गराएको छ। हाम्रो पार्टीबाट गएका मन्त्रीसँग छलफल नै नगरी यो काम गर्न भयो।
पार्टी एउटै भइसकेको भए त ठीकै हुन्थ्यो, तर उहाँको निर्णयले हामलिाई केही सोच्न बाध्य त बनाएकै छ।’ यता माओवादी केन्द्रले पार्टी एकता ‘सम्मानजनक’ माग राख्दै आएको छ। नयाँ बन्ने पार्टी र संगठनको सबै तहमा ५०-५० प्रतिशतको आधारमा एकता हुनुपर्ने उसको अडान छ।
एमालेले भने चुनावी गठबन्धनमा जस्तै ६० र ४० को आधारमा एकता गर्नुपर्ने बताउँदै आएको छ । यस्तै, चुनाव चिह्नका विषयमा पनि विवाद छ। एमालेले एकीकृत पर्टीको चुनाव चिह्न सूर्य हुनुपर्ने अडान राखेको छ भने माओवादी केन्द्रले सूर्यभित्र हसिया-हथौडा हुनुपर्ने अडान राखेको छ।
यी र यस्तै कारणले आगामी बैसाख ९ गते गर्ने भनिएको पार्टी एकता पर सर्ने बताइएको छ । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किए लगत्तै बस्ने भनिएको एकता संयोजन समितिको बैठकपनि सझै बस्न सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।