रोल्पाको ‘जलजला’ नयाँ पर्यटकीय गन्तव्य



सैघाली खबर,
बैशाख ३, रोल्पा । सदरमुकाम लिबाङबाट पैदल एक घण्टा दूरीको प्रसिद्ध जलजला धार्मिक पर्यकीय गन्तव्य बनेको छ ।

सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ । प्रत्येक वर्ष तीनपटक नियमित वराह पूजा हुने उक्त क्षेत्र भौगोलिक रूपमा मनमोहक र रमणीय छ ।

जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । साबिक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको त्यहाँ केही महिना हिउँ पर्छ । हिउँदमा भेडा–बाख्रा चर्छन् । वर्षायाममा अन्य बस्तुभाउको चरन क्षेत्र बन्छ ।

भौगोलिक रूपमा सुन्दर भएकाले सबैलाई लोभ्याउँछ । तत्कालीन माओवादी लडाकुले द्वन्द्व अवधिभर सुरक्षित तालिम केन्द्र बनाएका थिए उक्त स्थानलाई । तर यसको विकास भने हुन सकेको छैन । समुद्र सतहबाट ३१९३ मिटर उचाइमा छ । वैशाख, जेठ र साउने पूर्णिमाका दिन विशेष मेला र पूजाआजा लाग्छ ।

जलजला पहाडबीच खोंचमा रहेको वराह मन्दिरमा ती समयमा भक्तालुको भीड हुने गर्छ । यस मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने विश्वास गर्छन् । जलजलाको समथर क्षेत्रमा वराह मन्दिर छ ।उक्त स्थानबाट करिब ५ सय मिटर दक्षिणमा भामापुप नामको आकर्षक गुफा छ । मन्दिर र गुफामा पुगेर पूजाआजा गरे निस्सन्तानलाई सन्तान प्राप्त हुने विश्वास रहिआएको स्थानीयले बताए । ‘जलजला वराहको दर्शनले सन्तान प्राप्त हुने विश्वास छ । हामी पनि जलजलाको पूजा गर्न पुगेका थियौं,’ व्यवसायी लालबहादुर डाँगीले भने ।

उनका अनुसार सन्तान प्राप्त हुने कामना लिएर निस्सन्तान दम्पती यहाँ दर्शन गर्न जान्छन् । यस्तो विश्वास गरेर रोल्पा, प्यूठान, सल्यान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, बाँकेलगायत जिल्लाबाट श्रद्धालु बर्सेनि जलजला आउने गरेको थबाङका रेशमकुमार शाहले बताए ।

सदरमुकाम लिबाङबाट जलजला करिब २४ कोश उत्तरमा छ । शान्ति प्रक्रियापछि जलजला क्षेत्रको भौतिक विकास गरेर धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउन जलजला पर्यटन क्षेत्र विकास समिति नै गठन गरेर पहाडी गन्तव्यको विकास गर्न अघि सरेको प्रवेश रोकामगरले यसको विकास गर्न सके स्थानीयको पनि विकास हुने दाबी गरे ।

उनका अनुसार जलजलाको विकास गरेर धार्मिक एवं पर्यटकीय महत्त्व बढाउन स्थानीय तहले विशेष योजना अघि सार्नुपर्छ । उनी लामो समय उक्त समितिको संयोजक थिए । सरकारले उक्त समितिमार्फत बजेट विनियोजन गरेपछि मन्दिर, चौर तथा पदमार्ग निर्माण गरिएको थियो ।

वैशाख, जेठ र साउने पूर्णिमाका दिन जलजलाका तीन मन्दिरमा मेला लाग्छ । मेलामा हजारौं श्रद्धालुहरूले भेडा र कुखुराको बलि चढाउँछन् । मनमा सोचेको इच्छा पूरा हुने विश्वासमा जिल्ला बाहिरबाट पनि धर्मावलम्बी आउने गरेका छन् । तीर्थालुहरू अघिल्लो दिनबाटै जलजला पुगिसक्छन् । यहाँ वराह, बजु र झाँक्रीका तीन मन्दिर छन् ।

ऐतिहासिक महत्त्व रहेको जलजलाको पछिल्लोपटक पर्यटकीय विकास गर्न सरकारले चासो दिएको छ । यहाँ स्थानीय मगर रोका थरका मात्रै पुजारी हुन्छन् । पछिल्लोपटक जलजलालाई प्यूठानस्थित प्रसिद्ध धार्मिक गन्तव्यस्थल स्वर्गद्वारीपछिको गन्तव्य मानिन्छ ।

तर स्वर्गद्वारीमा भने बलि चढाइन्न । महाप्रभुले तपस्या गरेको स्वर्गद्वारीमा बर्सेनि हजारौं श्रद्धालु उपस्थित हुन्छन् । धार्मिक दृष्टिमा जलजला मातासँग ‘वर’ मागे पूरा हुने विश्वास छ ।

२०६२र६३ को राजनीतिक परिवर्तनसँगै यहाँको विकासमा सरकारले चासो दिएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा जलजलास्थित मन्दिर र धार्मिक संरचना झल्कने गरी निर्माण गरिएको छ । हाल मन्दिर र ताल निर्माण गरिएको जलजलाको जमिन अचम्मको छ ।

सिमखेत प्रकारको जमिनमा पाइला राख्दा थलथल गर्छ । श्रद्धालुले जमिनमा हिँड्दा कपासमा हिँडेजस्तो अनुभव गर्छन् । जलजलामा धूपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति र जडीबुटी पाइन्छन् ।

यस्तै डाँफे, मुनाल, कालिज, बनेल, बाघ, भालु, घोरल, मृग, रातेलगायत पक्षी तथा जनावर पनि यहाँ भेटिन थालेका छन् । जलजलाबाट धौलागिरि र सिस्ने हिमाल शृङ्खला सजिलै र नजिकैबाट देख्न सकिन्छ ।

कान्तिपुर दैनिकबाट

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्