विप्लवको बन्दले पूर्वी नेपालको जनजीवन प्रभावित



सैघाली खबर,
बैशाख ४ धनकुटा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन बढी प्रभावित भएको छ। बन्दको प्रभाव तराईका जिल्लामा सामान्य मात्रामा परेपनि पहाडी जिल्लामा बढी परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए। बन्दले पहाडी जिल्लामा सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन्। मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी र मोरङको सीमानामा पर्ने बुढी खोलाको पुलमा शंकास्पद वस्तु भेटेपछि केहीबेर सडक अवरुद्ध भएको थियोे। सेनाको टोली बम निस्क्रिय पारेपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी अरुणकुमार बीसीले जानकारी दिए। उनका अनुसार मोरङमा बन्दको प्रभाव कम मात्रामा परेको छ। नेकपाले केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईसहित आठ नेतालाई प्रशासनले पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै त्यसको खारेजी गरी नेताहरुको रिहाइको माग गर्दै पूर्वी नेपाल बन्द आह्वान गरेको हो। सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको विरोधमा उत्रिएर चरणवद्ध आन्दोलनको घोषणा गरेको नेकपाले जनाएको छ। पूर्व घोषित कार्यक्रमअन्तर्गत नै मंगलबार पूर्वी नेपालका जनकपुर, सगरमाथा, कोशी र मेची बन्द आह्वान गरिएको नेकपाको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्