कुसुन्डा जातिका ‘राजा मामा’को निधन



सैघाली खबर,
काठमाडौं ५ वैशाख, । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको बुधबार बिहान ७५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

उनी कुसुन्डा जातिको भाषा बोल्न जान्ने एकमात्र व्यक्ति थिए ।आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ दरैले अनलाइनखबरलाई दिएको जानकारीअनुसार राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि घरका सदस्यहरुले उठाएर चिया पिलाएका थिए । त्यसको केहीबेरमै उनको निधन भएको हो।

राजा मामा उच्च रक्तचापको बिरामी थिए ।

उनको निधनले लोपोन्मुख कुसुन्डा जाती र सिंगो आदिवासी जनजातीहरुलाई अपुरणीय क्षति भएको दरैले बताए ।

‘कुसुन्डा कान्छा’ बने ‘राजा मामा’

उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।

उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।

आदिवासी जनजाती महासंघ तनहुँ जिल्ला समन्वय परिषदका निवर्तमान अध्यक्ष दीर्घ दरैका अनुसार राजा मामा कुसुन्डाको अहिले अन्तिम संस्कारको तयारी भइरहेको छ । उनको श्रीमती र तीन कक्षामा अध्ययनरत एक छोरी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्