एमाले–माओवादी एकता : निरन्तरतामा क्रमभंग



प्रा. कृष्ण पोखरेल

 

काठमाडाैँ ५ वैशाखआउँदो ९ वैशाखमा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएर स्थापनाकालको नेपाल कम्युनिस्ट पार्टीको पुनर्जन्म हुने भनिए पनि तत्काललाई त्यो सम्भावना टरेको देखिँदै छ । निरन्तरको आरोप–प्रत्यारोप र एक–अर्कालाई निषेध गर्ने राजनीतिमा क्रमभंंग गर्दै यी दुई पार्टीले जुन इतिहास रच्दै थिए, त्यो तत्कालका लागि रोकिएको छ । तैपनि, भविष्यमा यी दुई पार्टी पक्कै एक हुने नै छन् । त्यसैले यस ऐतिहासिक परिघटनालाई विश्व कम्युनिस्ट आन्दोलनको अनुभव र नयाँ संविधानको समाजवादप्रतिको अठोटको आलोकमा विवेचना गर्नु सान्दर्भिक हुनेछ ।

 

वाम गठबन्धनको यसपटकको चुनावी सफलताको श्रेय एमाले र माओवादी केन्द्रको नेतृत्व र त्यसमा पनि खासगरी केपी ओली र प्रचण्डलाई जान्छ । जसले इतिहासको पदचापलाई सुनेर नेपाली जनताको नाडी छामेर यो गठबन्धन निर्माण गरे । तर, श्रेयका अंशियार यी दुवै पार्टीका मुलुकभरिका नेता र कार्यकर्ता पनि छन्, जो निर्वाचनको मुखमा हठात् बनेको यो गठबन्धनलाई चुनावी सफलतामा रूपान्तरित गर्न दिलोज्यानले लागे । अझ यो सफलताका महानायक त नेपाली जनता नै हुन्, जसले कांग्रेसका अनेकौँ हाउगुजीका बाबजुद गठबन्धनको स्थायित्व, विकास र समृद्धिको वाचालाई पत्याए।

यो मुलुकमा यस्ता पनि जडसूत्रवादी कम्युनिस्ट नेता र ‘हातेकुर्सी क्रान्तिकारी’ छन्, जो यी दुई पार्टीको गठबन्धन र पार्टी एकताको प्रयत्नलाई अनेक फत्तुर लाउँछन् । तीमध्ये कोेही माओवादी जनयुद्ध एमालेमा विसर्जन भएको देख्छन्, कोही यसमा यी दुई पार्टीका नेताको चरम अवसरवाद देख्छन् । कतिपय बालरोगग्रस्त क्रान्तिकारी माक्र्सदेखि माओसम्मका कृतिलाई उद्धृत गर्दै क्रान्तिलाई धोका दिएको आरोप लगाउँछन् । यी सबैको आरोपको निचोड के हो भने यी दुई पार्टी विसर्जनवादतिर लागे । तर, यसमा पंक्तिकारको भने तीव्र असहमति छ ।

पंक्तिकारलाई लाग्छ, कुनै मुलुकको क्रान्ति आ–आफ्नो समयका समाजवादका प्राधिकारका कृतिको रिठ्ठो नबिराई गरिने अनुकरणबाट सम्भव हुने होइन । न पेरिस कम्युनको बाटोबाट रुसमा बोल्सेभिक क्रान्ति भएको हो, न बोल्सेभिक क्रान्तिको बाटोबाट चीनमा नौलो जनवाद सम्भव भएको हो । क्यास्ट्रोले आफ्नो बाटो आफैँ खोजे र होची मिन्हले पनि आफ्नो बाटो आफैँ खने ।

एक समय जल्दोबल्दो र कतिपय मुलुकमा त सत्तामै पुगेकाहरू अन्धानुकरण गर्दा र आफ्नो क्रान्तिको बाटो आफैँ नखोजेका कारण वा इतिहासको पदचाप सुन्न नसकेका कारण कसरी ‘डस्टबिन’मा मिल्किए, त्यसका उदाहरणले कम्युनिस्ट क्रान्तिको इतिहास भरिएको छ । सत्ता हातमा आए पनि समाजवाद प्राप्तिका लागि हतार गर्दा कहाँ पुग्यो कम्बोडियामा पोलपोट–अइङ्सारीको शासन ? पेरुमा क्रान्तिको त्यत्रो उभार ल्याएको माक्र्सवाद, लेनिनवाद–माओवाद र गोन्जालो विचारधाराको पक्षधर साइनिङ पाथको के हबिगत भो ? अरू त अरू भारतमा कुनै वेला कंग्रेस आईपछिको दोस्रो राजनीतिक शक्ति बनेको सिपिआइएमको पश्चिम बंगाल, केरला र त्रिपुरा गरी तीन राज्यमा वर्षौं चलेको सरकार र उसको ‘पिपुल्स डेमोक्रेसी’ यतिवेला कहाँ छ ? कंग्रेसइतर एवं गैरदक्षिणपन्थी गठबन्धनले तिनका नेता ज्योति बसुलाई प्रधानमन्त्री प्रस्ताव गर्दा पनि नस्विकार्ने त्यो पार्टी किन आज सिला खोज्नुपर्ने अवस्थामा पुग्यो ?

वास्तवमा आफ्नो मुलुकको वस्तुस्थितिको ठोस विश्लेषण गरेर तदनुरूप बाटो तय गर्ने पार्टीहरूले निर्णायक छलाङ मारेका छन् र त्यसो नगर्नेहरू इतिहासको गर्तमा हराएका छन् । पंक्तिकारलाई त कुनै मुलुकमा कम्युनिस्ट विचारको कार्यान्वयन भनेको मानव शरीरमा अंग प्रत्यारोपणजस्तै जटिल र संवेदनशील क्रिया हो भन्ने लाग्छ । जसरी शरीरको ‘मेटाबोलिज्म’सँग मिल्यो भने शरीरले पराई अंग ग्रहण गर्छ, मिलेन भने अस्वीकार । कमबेसी त्यसैगरी समाज विकासको अवस्थासँग विचारको मात्रा मिलाउन सक्यो भने त्यसले ‘क्लिक’ गर्छ । अन्यथा ‘रियाक्सन’ गर्छ । हो, यो संगीन दोसाँधमा नेतृत्वको परख र पहिचान हुन्छ । हतार गर्ने पोलपोट भए, नक्कल गर्नेहरू गोन्जालो भए र धिमाहरू सिपिआइएम भए । र, समाज विकासको अवस्थाअनुरूप मात्रा मिलाउन सक्नेहरू एमाले र माओवादीजस्तै ऐतिहासिक छलाङ लगाउने ठाउँमा पुग्छन् ।

संसारमा समाजवादले धक्का खाएको वेला जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर मदन भण्डारीले एमालेलाई वैचारिक पुनर्गठनसाथ जहाँ उभ्याए, त्यसैको प्रतिफल हो एमाले । त्यस्तै जनयुद्धलाई साइनिङ पाथको दुखान्त अवस्थातर्फ जान नदिएर प्रचण्डले जुन ऐतिहासिक मोडमा त्यसको क्रमभंग गरे, त्यसैको प्रतिफल हो आज यो मुलुकमा स्थापित भएको गणतन्त्र, समावेशी लोकतन्त्र, समाजवादउन्मुख राज्य निर्माणको अठोट, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता परिवर्तन ।

वस्तुतः जबसम्म यी दुई पार्टी एक–अर्काबाट टाढा रहे परिवर्तनको प्रतिफल प्राप्त गर्ने अवसरबाट जनता वञ्चित रहे । त्यति मात्र होइन, उनीहरू निराश र हतास हुने अवस्था आयो । हो, यही बिन्दुमा यी दुई पार्टीका नेतृत्वले नेपाली समाज विकासको इतिहासमा अर्को क्रमभंग गरे । त्यसैको उपज हो, वाम गठबन्धन, त्यसको चुनावी विजय, र समाजवाद कार्यान्वयन गर्न जुरेको यो ऐतिहासिक अवसर ।

यो संविधानको प्रस्तावना र धारा ४ मा समाजवाद उल्लेख छ । प्रस्तावनामा नेपाललाई समृद्ध राष्ट्र बनाउन समाजवादप्रति प्रतिबद्ध रहने भनिएको छ भने धारा ४ मा नेपाललाई समाजवादउन्मुख राज्य भनिएको छ । संविधानमा यस विषयले स्थान पाउनुमा एमाले र माओवादी केन्द्रको ठूलै जोडबल लागेको छ ।

तर, यो संविधान त्यसपछि पनि मौन भएन । यसले नेपाली नागरिकका लागि पस्केको मौलिक हकभित्र यस्ता हक छन्, जसको इमानदारीपूर्ण कार्यान्वयनले समाजवादको मार्ग प्रशस्त गर्छ । जस्तो कि त्यहाँ नेपाली नागरिकका लागि रोजगारीको हक, स्वास्थ्यको हक, श्रमको हक, आवासको हक, दलितको हक र सामाजिक न्यायको हकजस्ता सामाजिक–आर्थिक सुरक्षा विषयक हक प्रत्याभूत गरिएका छन् । त्यति मात्र होइन, तिनै हकको लहरमा यी हक कार्यान्वयनका लागि राज्यले संविधान प्रारम्भ भएको मितिले तीन वर्षभित्र कानुन बनाइसक्नुपर्ने भनिएको छ । सौभाग्यवश संविधानको यो प्रतिबद्धता र मौलिक हक कार्यान्वयनको यो जिम्मेवारी नेपाली मतदाताले वैचारिक हिसाबले नै समाजवादप्रति प्रतिबद्ध वाम गठबन्धनलाई सुम्पेका छन् । अतः समाजवादको सफलताको श्रेय र असफलताको दोष अब यी दुवै पार्टीको पोल्टामा पर्ने निश्चित छ ।

पंक्तिकारले बुझेसम्म माक्र्सले प्रतिपादन गरेको समाजवादको समकालीन भाष्य भनेको वर्गीय, जातीय र लैंगिक भेदभावबाट मुक्त त्यस्तो समाज स्थापना हो, जहाँ मानव सशक्तीकरणको उच्चतर अवस्था हुन्छ । हो, त्यही मानव सशक्तीकरणको उच्चतर अवस्थाको प्राप्ति नै यो सरकार र एकीकृत पार्टीको अभीष्ट हुनुपर्छ । जहाँसम्म मानव सशक्तीकरणको उच्चतम अवस्थाको विषय छ, त्यो त योभन्दा पनि उच्च स्तरको समाजवादमा मात्र सम्भव होला ।

आगामी दिन निसन्देह चुनौतीपूर्ण छन् । चुनौतीहरू देशी र विदेशी दुवै छन् । त्यति मात्र होइन, यिनकै संगठनभित्र पनि छन् । विकास र समृद्धिको वाचा पूरा गर्नुपर्ने प्रशासन यन्त्र अत्यन्त जुम्सो छ । तिनमा काम गर्ने संस्कृतिको नितान्त अभाव छ । अर्कातिर राजनीतिक–प्रशासनिक नेतृत्व भ्रष्टाचारले आक्रान्त छ । बाह्य शक्तिमा संशय व्याप्त छ । यिनै पार्टीभित्र पनि इमानदार र कर्मशील नेता, कार्यकर्ता पाखा परेका र आफ्नो पदलाई कमाइखाने भाँडो बनाएका छट्टु र चाटुकारको बिगबिगी छ । तर, यी दुवै पार्टीका नेतृत्वले बुझ्नुपर्ने के छ भने तिनै चुनौतीमाझ अवसर पनि छन् । अहिलेसम्म जनताले यो गठबन्धनले गरेको वाचा पत्याएर जिताएका हुन् । तर, अब आफूले गरेका तिनै वाचा एकीकृत पार्टीका रूपमा अग्रसर भएर पूरा गर्दै जनताको विश्वास जित्नुपर्ने हुन्छ ।

नेपाली जनता र समकालीन इतिहासले संविधान र निर्वाचनमार्फत सुम्पेको कार्यभार पूरा गर्ने काममा अब बन्ने एकीकृत पार्टीलाई असफल हुने छुट किमार्थ छैन । बलियो संगठन र दृढ निश्चयले मात्र सफलताको यात्रा तय गर्न सकिन्छ । रातारात चमत्कार हुन्छ भन्ने त पंक्तिकारलाई पनि लाग्दैन र भन्दैन पनि । तर, यो सरकार र आगामी दिनमा बन्ने एकीकृत पार्टीले सही दिशातर्फ पाइला चाल्न भने जरुरी छ । आहानै छ– बिहानले दिनको संकेत गर्छ । हेरौँ, एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन एमालेले ठूलो छाती गर्न सक्छ कि सक्दैन, माओवादी केन्द्रले आवश्यक जोखिम मोल्न सक्छ कि सक्दैन ? वस्तुतः यसैमा निर्भर छ नेपालीको स्वप्न भंग हुन्छ कि पूरा भन्ने कुरा !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्