कवाडी बेचेरै मासिक ८० हजार आम्दानी



सैघाली खबर,
दाङ, ६ – वैशाख । दाङको लमही नगरपालिका– ५ का सद्दाम रङग्रेज कवाडी सामान विक्री गरि मासिक ८० हजार आम्दानी गर्नुहुन्छ । बिहान छ बजे बाट साँझ पाँच बजेसम्म उहाँ दुई जना सहयोगीसहित देउखुरी बजार तथा गाउँ डुलेर कवाडी संकलन गर्नुहुन्छ । १५ दिनसम्म संकलन गरेको कवाडी एक मुस्ट रुपमा गाडीमा नेपालगञ्ज, बुटवल, वीरगञ्जलगायतको कवाडी प्रशोधनको लागि विक्री गरि आम्दानी गर्ने गरेको सद्दामले बताउनुभयो ।मासिक दुई ट्रक कवाडी पठाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले प्रति ट्रक ३० देखि ४० हजार आम्दानी गर्ने गर्नुभएको छ । उहाँको बुवाले पनि यही काम गर्नुहुन्थ्यो । बुवाले गरेको कामबाट प्रभावित भएका सद्दामले पेशा परिवर्तन गर्नु भएन र कवाडी संकलन व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ । अहिले उहाँको सम्पर्क पनि बढेको छ ।

उहाँ भन्नुहुन्छ, ‘यो सबै काम मैले बुवाबाट सिकेको हुँ । अहिले त जताततैबाट फोन गरेर सामान लिन बोलाउँछन ।’ यही पेशाबाट सद्दामले १३ जनाको परिवार पाल्नु भएको छ । केही नगद जम्मा गर्नुभएको छ । उहाँ आफ्नो नयाँ घर बनाउने योजनामा हुनुहुन्छ ।

त्यस्तै, लमही ४ का ६० वर्षीय गुलाम गोस अन्सारी पनि दिनचर्या रङग्रेजको जस्तै छ । उहाँले आफू कवाडी संकलन पेशामा लागेको ३० वर्ष भएको बताउनुभयो । अन्सारीले गाउँघरमा बालबालिकाले ‘कवाडी आयो’ भन्दा उफ्रँदा आफ्नै प्रचार भएको महशुस हुने बताउनुहुन्छ ।

उहाँले दुई जनालाई कवाडी संकलनको लागि रोजगार दिनु भएको छ । दैनिक दुई हजार दिएर कवाडी संकलन गर्न पठाउने गर्नु भएको छ । दैनिक चार हजारभन्दा बढी रकम बराबरको कवाडी संकलन हुने उहाँ बताउनुहुन्छ । आफ्नो पेशाबाट राम्रो आम्दानी भएकोमा सन्तुष्ट रहेका गुलाम र सद्दामले कवाडी संकलनमा समस्या नभएको बताउनुभयो ।

यसरी कवाडी संकलनबाट एकतर्फ बेरोजगारले रोजगारी पाएका छन् । उहाँले भन्नुभयोे, ‘सरसफाइमा पनि सहयोग पुगेको छ ।’घरमा काम नलाग्ने फलाम टुक्रा, प्लाष्टिकका सामन, पेपर, कागजहरु, पानीका बोतल, सिसा जस्ता सामानलाई तहलगाउन पनि सहज भएको छ । ‘अरुलाई काम नलाग्ने सामान लैजाने गरेका छौँ ।’ अन्सारीले भन्नुभयो ‘धेरथोर भए पनि कवाडी बेचेर आम्दानी हुने भए पछि पहिले अलपत्र फाल्ने कवाडी सामान घरमा मानिसले संकलन गरेर राख्ने गर्न थालेका छन् । धेरै सामान भएपछि मोटर ग्यारेज, होटल, विद्यालय बाट पनि बोलाएर दिने गरेको अन्सारी बताउनुहुन्छ ।

कवाडीका सामान संकलन गरेरै उहाँको पनि परिवारलाई पुग्ने खर्च कमाइरहेको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्