कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



सैघाली खबर,
वैशाख ७ – चैत १६ गतेदेखि स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारदेखि फेरि सुरु हुँदैछ । बैठक विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित गरिएको थियो । बैठकमा यसअघि बोल्न बाँकी सदस्यले धारणा राख्नेछन् । बैठकमा अहिलेसम्म ४२ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । बैठकमा चुनावमा पार्टीले ब्यहोर्नुपरेको हारको समिक्षा र अब कसरी अघि बढ्ने भन्नेबारेको योजना निर्माणलगायत विषय छलफलको मुख्य विषय रहँदै आएको नेताहरुले जानकारी दिएका छन् ।

यसैबीच युवा नेताहरुले पार्टी सञ्चालनका लागि छुट्टै प्रस्ताव पेश गर्ने तयारी गरिरहेका छन् । गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङलगायत नेताले विधान विपरित गठन भएको संसदीय बोर्ड र समितिहरु विगठन गर्नुपर्ने, पार्टीलाई बाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन विगतका कमी कमजोरी हटाउनुपर्ने, नयाँ पुस्ताको उपस्थिति र जिम्मेवारी बाँडफाँडमा ध्यान दिनुपर्नेलगायत विषय प्रस्तावमा उल्लेख गरिने नेताहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्