फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा…



 

सैघाली खबर,
दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोहलपुरका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्। फोन र फेसबुकबाटै ‘भाग्ने’ मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे ।

( तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चोरहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाइसकेकाले त्यही राति उनीहरु भागेर सुर्खेत आइपुगे ।

१० दिन सुर्खेत र नेपालगञ्जका होटलमा बिताएपछि उनीहरु भारतको गुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफू ‘भारतीय प्रहरी’ को जागिरे रहेको बताउने गरेका थिए । गुजरात पुग्दासम्म तिवारीसँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन।
जब युवती गुजरात पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । गुजरात पुर्‍याएकै दिन रातिबाट उनीमाथि सामूहिक बलात्कार हुन थाल्यो । ‘होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो,’ युवतीले भनिन्, ‘चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।’

युवतीका अनुसार दैनिक तीनदेखि ६ जनासम्म युवक आउँथे । बलात्कार गरेर जान्थे ।

फागुन १५ देखि चैत २० सम्मका दिन उनका लागि जीवनकै कहालीलाग्दा भए ।

चैत २१ गते उनी होटल संचालकको सहयोगमा नेपालीको सम्पर्कमा पुगिन् । उनीहरुकै सहयोगमा नेपालसम्म आइपुगेकी युवतीले चैत २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मानव बेचबिखन र जबर्जस्ती करणीमा उजुरी दिइन् ।

युवतीलाई पछ्याउँदै आएका तिवारीलाई प्रहरीले वैशाख २ गते पक्राउ गर्‍यो । प्रहरी अनुसन्धानबाट उनले यसअघि तीनवटा विवाह गरिसकेको खुलेको छ । नागरिक दैनिक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्