तुलसीपुरका सामुदायिक विद्यालयमा स्वयम् सेवक शिक्षक



सैघाली खबर,
तुलसीपुर, ७ वैशाख ।
तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा टिच फर नेपालले शिक्षक हस्तान्तरण गरेको छ । ग्रामिण समुदायमा रहेका विद्यालयहरुमा शिक्षकको व्यवस्थापन गर्ने उद्देश्यका साथमा टिचफर नेपालले शिक्षकहरु उपलब्ध गराएको हो । यसै शैक्षिक सत्रबाट तुलसीपुर उपमहानगरपालिकाका ९ वटा विद्यालयमा १९ जना शिक्षकहरुले अध्यापन गराउने टिचफर नेपालका कृष्ण केसीले वताए । सामुदायिक विद्यालयका धेरै विद्यार्थी अनुत्तिर्ण हुने विज्ञान, गणित र अँग्रेजी विषयको अध्यापन गराउने पनि उनले वताए । केसीले २ वर्षका लागि शिक्षकहरुलाई विद्यालयमा पठाइएको र आवश्यकता अनुसार नयाँ शिक्षकहरु ल्याएर थप पनि गर्न सकिने वताए । ‘४ हजार वढिबाट छानिएका शिक्षकहरुलाई हामीले पठाएका हौ’ केसीले भने । उनले परीक्षाबाट छानिएकाहरुलाई ४५ दिनको पूर्व शिक्षण तालिम दिइएको पनि उनले वताए । उनले शिक्षकहरुलाई आवासको व्यवस्था भने विद्यालयले गर्नुपर्ने वताए । ‘समुदायमै वसेर पढाउनुपर्ने हुन्छ, यसले गर्दा समुदायका समस्या पनि थाहा हुन्छ’ केसीले भने ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै आचार्यले शिक्षाको गुणस्तरियता वृद्धिका लागि टिच फर नेपालले गरेको सहयोगको प्रशंसा गरेकी थिइन् । उनले शिक्षाको विकासका लागि अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षिय सम्वन्ध राम्रो हुनुपर्ने वताइन् । शिक्षाको विकास विना मुलुक समृद्ध नहुने भएकाले शिक्षाको विकासका लागि सबैले ध्यान दिनुपर्ने वताइन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टोपेन्द्र वहादुर केसीले टिच फर नेपालका शिक्षकहरुको अभिभावकत्व उपमहानगरले लिने वताए । उनले तुलसीपुरमा अध्यापन गर्नका लागि आएका शिक्षकहरुलाई विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा शिक्षकको रुपमा अध्यापन गर्न आएकी सीता थापाले उपमहानगरपालिकाले स्वागत कार्यक्रमको आयोजना गरेर आफुमा उर्जा भरेको वताइन् । उनले विभिन्न अवसर हुँदाहुँदै पनि समाजसेवाको भावले टिचफर नेपालमा आवद्ध भएको वताईन् । स्वयम्सेवक शिक्षकहरुले समुदायमै वसेर अध्यापन गराउने र आइतवार देखिनै अध्यापन कार्य
सुरु गर्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख भाष्कर गौतमले नगरप्रमुख घनश्याम पाण्डेको लिखित शुभकामना मन्तव्य राख्दै तुलसीपुरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि आफु प्रतिवद्ध रहेको पनि वताए । उनले टिच फर नेपालले योग्य शिक्षकको व्यवस्थापन गरेकोमा आभार समेत व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विकको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त विवश आचार्यले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्