प्रधानमन्त्री मोदीसमेत जोडिएको मुद्धामा भारतीय सदनमा महाअभियोग दर्ता, अब के होला ?



भारतमा प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । भारतीय माथिल्लो सदन राज्यसभामा यस्तो प्रस्ताव दर्ता गरिएको हो । कांग्रेस र अन्य सात प्रतिपिक्षका ७१ सांसदहरूले प्रधानन्यायाधीश मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्ताव उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई बुझाइएको छ ।

भारतको इतिहासमै पहिलोपटक राज्यसभामा विपक्षीले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव गरेका हुन् ।  प्रस्ताव अघि बढाउने–नबढाउनेबारे भने उपराष्ट्रपतिले निर्णय गर्नेछन् ।

प्रस्ताव मनासिव लागेर अगाडि बढाएमा महाभियोगका प्रस्ताव लगाइएका आरोपहरूबारे छानबिन गर्न समिति गठन हुनेछ । समितिलाई ती आरोप उचित लागेमा महाअभियोग प्रस्तावमाथि मतदान गरने छ । तर प्रस्ताव भने सदनको दुईतिहाइ मतले दुवै सदनबाट पारित हुनुपर्छ ।

कंग्रेसले के भन्यो ?
क‌ंग्रेसका नेताहरूले न्यायालयलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न नसकेकै कारण प्रधानन्यायाधीश विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नुपरेको प्रतिक्रिया दिएका छन् । ‘समस्याको समाधान गर्न संविधानले केवल एउटा बाटो प्रदान गरेको छ । न्यायपालिकालाई रक्षा गर्न महाअभियोग बाहेक अर्को उपाय नभएकाले राज्य सभाका हामी सदस्यहरूले गह्रौँ मुटुसँगै निर्णय गरेका हौँ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेताहरूले भने ।

काँगे्रसको भनाई छ ‘आजको दिन कहिल्यै नआओस् भन्ने कामना गरेका थियौँ, तर महाअभियोग प्रस्ताव दर्ता गर्न बाध्य भयौँ,’ । विपक्षीले प्रधानन्यायाधीश विरुद्ध आफैँले मन लागेका न्यायाधीशहरूलाई संवेदनशील मुद्दा फैसला गर्ने अधिकार दिएको लगायत आरोप लगाएका छन् ।

किन ल्याइयो महाअभियोग प्रस्ताव ?

बिहीबार सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साह मुछिएको मुद्दामा प्रधानन्यायाधीश मिश्राले गरेको फैसलापछि उनीमाथि महाअभियोग प्रस्ताव आएको हो । मिश्रा सहित तीनजनाको इजलासले बिहीबार सिबिआई अदालतका न्यायाधीश बिएच लोयाको मृत्युबारे थप छानबिन गर्नुनपर्ने आदेश दिएको थियो ।

न्यायाधीश लोयाको मृत्यु शंकास्पद तरिकाले भएको थियो । उनले सन् २००५ मा गुजरातमा प्रहरी इन्काउन्टरमा मारिएका सोहराबुद्दीन शेखको मुद्दाको सुनुवाइ गरेका थिए । शेख मुद्दामा भाजपाका वर्तमान अध्यक्ष्य अमित साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जोडिएका थिए । इन्काउन्टरमा शेख मारिँदा अमित साह गुजरातका गृहमन्त्री थिए भने नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए । शेखको इन्काउन्टरबारे मुद्दामा सुनुवाइ चलिरहेको छ । सो मुद्दामा अमित शाह केही समय जेल परेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्