राजको अभिभावक बने महानायक राजेश हमाल



 

सैघाली खबर,
नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराएका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन् ।

‘मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो’, हमालले भने, ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री दिए। बालकको लालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गरेको राजकी आमा लक्ष्मीले बताइन् ।

कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताएका थिए ।

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । पतिको मृत्युपछि लक्ष्मी श्रमिक बनेकी छिन् । उनी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्छिन् । हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्