असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाऔं सभामुख



 

काठमाडौं, ८ बैशाख । सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।  डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको आज (शनिबार) काठमाडौंमा लोकार्पण गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो ।

देशको व्यापार सन्तुलन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने बताउँदै सभामुख महराले भन्नुभयो, ‘मुख्यगरी कृषिमा उत्पादकत्व बढायौं र कृषकहरुको सिर्जनशीलतालाई सही ढंगले सदुपयोग ग¥यौं भने आत्मनिर्भर बन्नका लागि देशभित्रै धेरै उत्पादन गर्न सक्छौं ।’
देश साधन स्रोत, श्रम र सीपका दृष्टिकोणले धनी भएको बताउँदै सभामुख महराले आफूसँग भएको स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने सही योजनाको खाँचो भएको बताउनुभयो । ‘हामीसँग भएको स्रोत, साधन, श्रम र सीपको प्रयोग गर्ने सही योजनाको खाँचो छ, उहाँले भन्नुभयो, ‘त्यस्तो योजनाको खाँचो पूर्ति गर्न गणेशजीको यो पुस्तकले महत्वपूर्ण योगदान गर्छ भन्ने मलाई विश्वास छ ।’

लेखक जोशीले कृषि र वन क्षेत्रमा लामो समय काम गरेर अनुभव हाँसिल गरेको भन्दै सभामुख महराले अध्ययनका क्रममा आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई पुस्तकमा केन्द्रित गरेको बताउनुभयो । पुस्तकमा नेपालको कृषि अर्थतन्त्रका चुनौती र अवसरहरुका साथै समस्याहरु के छन् भन्ने पनि राम्रोसँग संकेत गरिएको महराले बताउनुभयो ।

अर्थमन्त्री छँदा वीरगञ्जको एउटा दाना उद्योगमै विहारबाट ५ सय क्वीन्टल मकै आउने गरेको थाहा पाएको भन्दै सभामुख महराले देशमा धेरै मकै उत्पादन हुँदा पनि आफ्नो उत्पादनको व्यापार सन्तुलन मिलाउन नसकिएको बताउनु भयो ।
कार्यक्रममा डा. माधव कार्की र डा. यमबहादुर थापाले पुस्तकको समीक्षा गर्नुभएको थियो । १४ खण्डमा बाँडिएको डा. जोशीको पुस्तक कृषि क्षेत्रको खोज, अनुसन्धानमा आधारित रहेका छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्