मुख्य समाचार

गुनासो व्यवस्थापन गरी सम्बोधन गर्न आजबाट नयाँ कार्यविधि लागू ।।

By थाहा अनलाइन

June 23, 2017

असार ९ 

नेपाल पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण, अन्य भौतिक पूर्वाधारको पुनःनिर्माण, आर्थिक तथा सामाजिक पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन गरी सम्बोधन गर्न नयाँ कार्यविधि लागू गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले आजदेखि भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले केन्द्रको अधिकार स्थानीय तहमा विकेन्द्रित गरेको प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले सीआईएनसँग बताउनुभयो । यसअघि केन्द्रबाट मात्र हुने गरेको पुनःनिर्माणसम्बन्धी गुनासो सुनुवाई र सम्बोधन गर्ने अधिकार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई समेत दिइएको छ । पोखरेलले नयाँ कार्यविधि बनेसँगै पुनःनिर्माणसम्बन्धी समस्या लिएर सिंंहदरबार धाउनुपर्ने जनताको पीडा हट्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म दर्ता भएका करिब दुई लाख सात हजारमध्ये एक लाख ८० हजार गुनासो सिंहदरबारबाट सम्बोधन गरिएको छ । कार्यविधिअनुसार भूकम्पबाट प्रभावित ३१ जिल्लाका जनताले प्राधिकरणको पुनःनिर्माणसम्बन्धी काममा चित्त नबुझेमा गुनासो गर्नसक्ने छन् ।