एकताको सन्देशमा टर्दै घोषणा मिति



सैघाली खबर
काठमाण्डौ , ९ वैशाख । वाम एकता अर्थात देशका दुई ठूला कम्युनिष्ट पार्टी, नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकताका लागि पूर्वनिर्धारित मिति आजै आईतवार वैशाख ९ गते हो । दुवै पार्टीले केही कुरा मिल्न बाँकी रहेको भन्दै एकता घोषणाको मिति पछि सरेको बताएका छन् ।

तोकिएको मितिमा एकता घोषणा नहुने भएपछि राजनीतिक बृत्तमा एमाले–माओवादी एकता संकटमा परेको वा एकताले आकार लिनै नपाउने हो कि भन्ने आशंका उब्जिएका बेला आइतबार एमाले र माओवादीले एकताको सन्देश दिने तयारी गरेका छन् ।

पार्टी एकताकै घोषणा गर्न नसके पनि चाँडै नै एकता हुने सन्देश दिने तयारीमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । औपचारिक रुपमा नै एकताको सन्देश दिँदै कार्यकर्तालाई आश्वस्त पार्ने तथा शंकाहरुलाई चिर्ने प्रयासमा छन्, ओली र प्रचण्ड ।

यसअघि कम्युनिष्ट पार्टी स्थापना दिवस आइतबारको अवसर पारेर एकताको घोषणा गर्ने बताएका दुई पार्टीका शीर्ष नेताले एकताको घोषणा गर्न नसके पनि एकताको बाटो बनाउने काम भइरहेको र चाँडै नै एकता प्रयासले मूर्त रुप लिने सन्देश दिने भएका हुन् ।

ओली र प्रचण्डले आइतबार पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रममा सम्बोधन गर्ने छन् र उनीहरुले सम्बोधनमा एकताको सन्देश दिने तयारी छ ।

एकतामा शंका उत्पन्न भएका बेला ओली र प्रचण्डबिच पछिल्ला दिनमा लामो वार्ता भइरहेका छन् । ओली र प्रचण्डबिच शुक्रबार र शनिबार पनि छलफल भएको थियो ।

दुवै नेताले आइतबार हुने कार्यक्रममा पार्टी एकताका बारेमा आफूहरुबिच भएका पछिल्ला छलफलबाट भएको प्रगति बारे कार्यकर्तालाई जानकारी पनि गराउने छन् ।

एकताको अन्तिम तयारीमा रहेको भनिएका दुवै पार्टीका शीर्ष नेता द्विपक्षीयसँगै आ–आफ्नो पार्टी भित्रको छलफलमा पनि व्यस्त रहेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किए लगतै हुने भनिएको छलफल केही ढिलो गरी सुरु भए पनि अहिले तीव्रता पाएको छ ।

एमाले र माओवादीबिच पार्टीको आधिकारिक दस्तावेजमा जनयुद्ध शब्द राख्ने वा नराख्ने, पार्टीका निकायमा दुई पार्टीको हिस्सा, चुनाव चिन्हसहितका प्रमुख विषयमा कुरा मिल्न बाँकी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्