खेलकुद

वैशाख २२ गते एन्फाको निर्वाचन गर्न प्रस्ताव

By थाहा अनलाइन

April 23, 2018

सैघाली खबर काठमाडौं,१० बैशाख

अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन समितिले यही वैशाख २२ गते शनिबार निर्वाचन गर्न प्रस्ताव गरेको छ । एन्फाको निर्वाचन समितिले हिजो चुनावको मिति प्रस्ताव गरेको हो । तर उक्त मितिमा चुनाव हुन उच्च अदालत पाटनले एन्फाको चुनाव रोक्न दिएको अन्तरिम आदेश खारेज हुनुपर्नेछ ।

यदि उच्च अदालतले यसअघिकै आदेशलाई निरन्तरता दिएको अवस्थामा भने वैशाख २२ गते निर्वाचन गर्न नसकिने निर्वाचन समितिले जनाएको छ । यसअघि गत चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चुनाव रोक्न आदेश दिएको थियो । त्यसपछि यी दुई जिल्ला फुटबल संघको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो ।

एसियन फुटबल महासंघ एएफसीले चुनाव मिति जतिसक्दो चाँडो तोक्न एन्फालाई यसअघि नै निर्देशन दिएको थियो । एन्फाको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ ।