मुख्य समाचार

माओवादी चुनावी परिणाम पुरानै अवस्थामा फर्कने स्थिति देखिन्छ अनन्त

By थाहा अनलाइन

June 23, 2017

दाङ, ९ असार ।पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश इञ्चार्ज बर्षमान पुन ‘अनन्त’ले माओवादीको चुनावी परिणाम पुरानै अवस्थामा फर्कने स्थिति सिर्जना हुँदै गएको बताउनुभएको छ ।

चुनावी दौडाहको क्रममा दाङको गढवा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताउनुभयो । ‘पहिलो चरणको स्थानीय तह निर्वाचनमा हामीले ४६ वटा ठाउँमा जित्यौं भने ५२ ठाउँमा दोस्रो भयौं’– उहाँले भन्नुभयो– ‘त्यो पनि नराम्रो त होइन तर सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कमब्याक हुने संभावना बढेर गएको छ ।’

प्रदेश नम्बर ५ का जिल्लाहरुमा चुनावी उत्साह उल्लेख्य बढेको जनाउँदै उहाँले चुनावको माहोल माओवादीको पक्षमा आइसकेको दाबी गर्नुभो । ‘हामी २०६४ को अवस्थामा त फर्केका छैनौं तर त्यसको ढिकढिकसम्म पुगेका साथीहरुको रिपोर्ट’– शुक्रवार मात्रै दाङका झण्डै दश स्थानमा आयोजित चुनावीसभालाई सम्वोधन गरेका नेता पुनले भन्नुभयो– ‘जनसहभागिता र उत्साह निकै बढेको देखिन्छ ।’

माओवादी पार्टीमा आएको विभाजनका कारण २०७० सालको संविधानसभा निर्वाचनमा हार ब्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अहिले चुनाव जित्ने धेरै सूचक हामीले पूरा गरेका छौं, फूटेको पार्टी एक भएको छ र संविधान जारी गर्नेदेखि स्थानीय तह पुनर्संरचना गर्नेसम्मका एजेण्डा हामीले सफल बनाएका छौं ।’ आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक बृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध विकासलगायतका कामले माओवादीले अवसर पाए गर्दोरहेछ भन्ने यथार्थ स्थापित भएकाले पनि माओवादीको पक्षमा जनमत बढ्दै गएको पूर्वअर्थमन्त्री पुनले बताउनुभयो । दाङको सन्दर्भमा प्रदेश राजधानी,सरकारी मेडिकल कलेज, अन्तर्राष्ट्रिय विमानस्थल आदि माओवादीका प्रमुख विकास एजेण्डा भएको बताउनुभयो ।

पूर्वमन्त्री पुनले शुक्रवार अर्घाखाँचीको एक ठाउँ तथा दाङको गढवा बंगलाचुली गाउँपालिका गरी दश स्थानमा चुनावीसभालाई सम्वोधन गर्नुभएको थियो ।