योजना आयोगको उपाध्यक्षमा डा.कँडेल नियुक्त



सैघाली खबर
काठमाडौं,११ बैशाख

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्षसमेत रहनुभएका कँडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका अरु सदस्यमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयाल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, राष्ट्रियसभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । यस्तै, बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिको वैदेशिक भ्रमण निर्देशिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पठाउने समेत निर्णय गरेको छ ।

यसैगरी, सरकारले बसोबास आयोगको केन्द्र देखि जिल्ला सम्मका सबै संरचना खारेज गरेको छ । आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटी मात्र नोक्सान भइरहेको भन्दै मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखा खारेज गरेको सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले जनताको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ । कैलालीमा सन्चालित गुलरिया सिँचाइ आयोजना सन्चालनका लागि विश्व बैंकको ६ अर्ब ८६ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्