एसपी खनाल पक्राउ, डिएसपी राउत प्रहरी घेराबाटै फरार भएपछि घटनाले लियो अर्को मोड



सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत बेपत्ता भएपछि छानविन समितिका सदस्यहरूमाथि नै शंका उत्पन्न भएको छ ।

मंगलबार अपरान्ह बयान नसकिँदै राउत फरार भएपछि घटना रहस्यमय बनेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको स्रोतले जनाएको छ ।

सुन तस्करीका मुख्य नाइके चुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो ।

घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ । डिएसपी राउत मंगलबार रातिसम्मपनि सम्पर्कमा नआएको स्रोतको भनाइ छ । प्रहरीका केही उच्च अधिकारहरूलाई पनि बयानका लागि हिरासतमा राखिएको छ ।

राउतलाई भगाउन छानविन समितिका डिएसपी सुदीप पाठकले भूमिका खेलेको शंका गरिएको छ । राउत बेपत्ता भएपछि नाटकीय ढंगले ‘कहाँ गयो राउत’ भन्दै मन्त्रालयको गेटमा आएर पाठक फर्किएका थिए ।

डिएसपी पाठक उनै प्रहरी अधिकारी हुन, जो टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्तागरी प्रयोग गरेका थिए । डिएसपी पाठकले चोरीका गाडी यातायातमा कीर्ते कागजात बनाई बिक्री गर्ने मुख्य गिरोहलाई संरक्षण दिएका थिए ।

स्रोतका अनुसार डिएसपी पाठकले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य भूमिका खेलेका अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीलाई अनुसन्धानको सूचना चुहाएर जोगाउने खेलमा लागेको आरोप छ ।

सई बालकृष्ण सञ्जेलले आफूले एसएसपी लोहनी र डिएसपी प्रजित केसीको निर्देशनमा सबै काम गरेको बयान दिँदा समेत लोहनीलाई अहिलेसम्म पनि पक्राउ गरिएको छैन ।

समितिमा रहेका डिएसपी पाठक र इन्स्पेक्टर भीष्म हुँमागाईलाई प्रलोभनमा परेर राजनीतिक नेतृत्व र प्रहरीका केही उच्च अधिकारीहरूको दवावमा काम गरेको आरोप पनि छ ।

पाठक र हुमागाईको डिजाइनमा लोहनीलाई जोगाउने गरी प्रतिवेदेन तयार पार्ने हुन् कि भन्ने आशंका हुन थालेको छ । डिएसपी राउतको बयानबाट एसएसपी लोहनी फस्ने अवस्था देखिएपछि डिएसपी राउतलाई मिलेमतोमा भगाईएको हुन सक्ने स्रोतको दाबी छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्