भूकम्पको ३ वर्ष, अब पुनःनिर्माणले गति लिने प्रधानमन्त्रीको भनाई



सैघाली खबर
काठमाडौं,१२ बैशाख

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर झन्डै ९ हजार मानिसको मृत्यु हुनेगरी विनाशकारी भूकम्प गएको ३ बर्ष पूगेको छ । ०७२ वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण ७ लाख ६७ हजार ७ सय ५ घर भत्किएका थिए । त्यसमध्ये अहिले सम्म ७ लाख ९ हजार एकसय ८० घरको अनुदान सम्झौता भएको छ ।

६ लाख ९६ हजार १९३ ले घर निर्माण सुरु गरेर पहिलो किस्ता लिइसकेका छन् भने ३ लाख ७४ हजार २२५ दोश्रो किस्ता पाउन प्रमाणित भइसकेका छन् । प्राधिकरणको तथ्यांक अनुसार २ लाख ६३ हजार ७५ घर बनिसकेको छ । यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई लिएर अब कोही पनि निराश हुनु नपर्ने बताउनुभएको छ ।

अब पुनर्निर्माणको काम अघि बढाउन सहज अवस्था आएकाले कोहीपनि निराश हुनु नपर्ने प्रधानमन्त्रीले बताउनुभयो । विनाशकारी भूकम्प गएको ३ वर्ष पुगेको अवसर पारेर आज भग्नावशेष अवस्थामा रहेको धराहराको फेदमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धराहरा लगायत काठमाडौंका सम्पदाहरूको पुनर्निर्माणको कामले पनि गति लिने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दा विगतमा पुनर्निर्माणको कामले गति लिन नसकेको स्ीकार गर्दै अब भने पुन निर्माणको कामले गति लिने बताउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्