कांग्रेसको अबको बाटो



प्रा. कृष्ण पोखरेल

काठमाडाैँ, १२ वैशाख म कांग्रेसको राजनीतिक विचारधारासँग जति असहमत छु, त्यति नै यो सशक्त र जीवन्त पार्टी बन्नुपर्छ भन्ने विचारमा दृढ छु । यो उसप्रतिको कुनै मोहभन्दा पनि लोकतन्त्रप्रतिको मेरो मोह हो ।

यस्तो किन हो भने लोकतन्त्रको प्राप्तिपछि यसको भूमिका जति नै आलोच्य भए पनि जुन वेला यो मुलुकमा लोकतन्त्र थिएन र जबजब लोकतन्त्र अपहरण भयो, यो पार्टी लोकतन्त्र प्राप्ति र पुनः प्राप्तिको लडाइँमा अग्रपंक्तिमा उभियो ।

यस्तो उज्ज्वल इतिहास भएको पार्टीको क्षय होस् र यसले प्रजा परिषद्को नियति भोग्न पुगोस् भन्ने म मात्र होइन, सायद कसैले पनि त्यस्तो चाहना राख्दैनन् होला । फेरि वामपन्थीको विकल्प अरू कुनैभन्दा कांग्रेस नै उपयुक्त शक्ति हो ।

 

तर, आजको कठोर सत्य के हो भने कांग्रेस आफ्नो इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ । कमसेकम निर्वाचन परिणामले त त्यही देखाएको छ । कांग्रेस यो अवस्थामा हठात् पुगेको भने होइन । लोकतन्त्रको पुनरोदयपश्चात ०४८ को आमनिर्वाचनमा सुविधाजनक बहुमत ल्याएर सरकार बनाएपछि जब यसले व्यवहारमा बिपीको समाजवाद परित्याग ग-यो र पूर्ण निजीकरणको बाटो अख्तियार ग-यो, त्यहीँदेखि यसको क्षय प्रारम्भ भयो ।

जुन मुलुकमा जनसंख्याको ठूलो हिस्सा गरिबीको सागरमा डुबेको छ, त्यहाँ जब तिनको हितको पक्षपोषण गर्ने नीतिबाट कांग्रेस विमुख भयो, जनताको नजरमा यो निख्खर पुँजीपतिको पार्टीमा दरियो ।

पहिल्यैदेखिको पहिरो

वस्तुतः कांग्रेसको पराजयको पहिरो २०५१ को मध्यावधि चुनावमै सुरु भएको थियो । मनमोहन अधिकारीको स्वच्छ सरकार तथा वृद्धभत्ता र आफ्नो गाउँ आफैँ बनाऊँ जस्ता लोकप्रिय कार्यक्रमले जनतामा एमाले साँच्चै देश विकास गर्ने र बहुसंख्यक जनताको पार्टी हो भन्ने छवि बन्यो ।

यदि त्यतिवेला उसले प्रस्ताव गरेको आमनिर्वाचन हुन पाउँदो हो त आजको पराजयसँग कांग्रेसको जम्काभेट ०५२ सालमै भइसक्थ्यो । तर, त्यतिवेला पराजयको खड्गो विश्वनाथ उपाध्यायले टारिदिए भने ०५६ को आमनिर्वाचनमा एमालेको विभाजनले । संविधानसभाका दुवै निर्वाचनमा उसलाई बेहाल हुनबाट वाम मतको एमाले र माओवादीमा भएको बाँडफाँडले जोगायो ।

तर, यसपटक जब एमाले र माओवादी एक ठाउँ आए, कांग्रेसको नराम्रो पराजय भयो । यो पराजयको मापन यसैबाट गर्न सकिन्छ कि केन्द्रमा मात्र होइन, सातै प्रदेशमा कहीँ पनि उसको सरकार बनेन । एउटा इतिहास बोकेको पार्टीको योभन्दा ठूलो बेहाल के होला ?

आत्ममन्थन कि आत्मरति ?

कांग्रेसका लागि यो आत्ममन्थनको समय हो । मलाई लाग्छ, पार्टीको वैचारिक स्खलन नै पराजयको प्रमुख कारण हो । वास्तवमा जब यसले बिपीको समाजवादलाई तिलाञ्जली दियो र निजीकरणको अन्धाधुन्ध अवलम्बन गर्न थाल्यो, जनतामा यसप्र्रतिको मोह भंग भयो । फेरि, सरकारमा पुगेका वेला ‘प्रो पिपुल’ कार्यक्रम ल्याउनु त कता हो कता, प्रधानमन्त्रीदेखि मन्त्रीहरू नै भ्रष्टाचार र कमिसनखोरीमा लिप्त भएको देखेपछि जनतालाई थप निराश बनायो ।

नेतृत्वमा रहेकाहरूमा संगठन कब्जा गर्ने सोच र योग्य तथा इमानदारभन्दा आसेपासेलाई अवसर दिने व्यवहारले पनि संगठनलाई कमजोर बनायो । निर्वाचनमा घात–अन्तर्घात त्यसैको परिणाम हो । वस्तुतः वाम गठबन्धनले त फगत एक ‘क्याटलिस्ट’को काम ग-यो, जसबाट कांग्रेसको जनतामा रहेको वास्तविक हैसियत यो निर्वाचनमा उजागर हुन पुग्यो ।

तर, यतिवेला पनि कांग्रेसको मूल नेतृत्व र त्यसमा पनि सभापति देउवा आत्ममन्थन गर्न तयार छैनन् । उनी अहिले पनि आफ्ना आलोचकसामु लोकप्रिय मतमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेको र समानुपातिकतर्फ पनि एमालेको हाराहारीमा रहेको तथ्य पस्केर जनमत कहाँ खस्क्यो ? भन्दै मुख बन्द गर्न खोज्दै छन् ।

यथार्थमा लोकप्रिय मतमा कांग्रेस सबैभन्दा अगाडि देखिनुको एउटै कारण उसले प्रत्यक्षतर्फ एमालेभन्दा धेरै बढी सिटमा उम्मेदवार उठाएकाले हो । समानुपातिकमा पनि यही प्रत्यक्ष निर्वाचनकै प्रभाव परेको हो । यति सरल अंकगणित पनि नबुझे जस्तो गर्नु देउवाजीको आत्मरति मात्र हो ।

मलाई लाग्छ, यथास्थितिमा कांग्रेस अब रहनै सक्दैन । कमसेकम त्यसमा रहेका क्षमतावान् युवाले कुनै न कुनै बाटो खोज्नैपर्छ । तर, प्रश्न उठ्छ– कुन बाटो ?

कुन बाटो ?

अबको बाटो कुन भन्ने प्रश्नको उत्तर मूलतः वाम गठबन्धन कसरी अगाडि बढ्छ भन्नेमा निहित छ । यदि वाम गठबन्धनको प्रयोग सफल भयो र त्यो सहज रूपमा अघि बढ्यो भने विचारका हिसाबले त्यो मध्यबाट देब्रेको पार्टी हुनेछ ।

अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले त्यसले आफूलाई जति नै कम्युनिस्ट हुँ भने पनि त्यो मध्यबाट धेरै देब्रे जान सक्दैन । संविधानले अंगीकार गरेका मौलिक हकको कार्यान्वयन र त्यसले आत्मसात् गरेको लोकतन्त्रमा आधारित समाजवादको प्राप्ति नै वैचारिक र कार्यक्रमिक सीमा हुनेछ ।
यो अवस्थामा कांग्रेससँग व्यवहारमा ०४८ देखि नै छाडेको समाजवादमा पुनः फर्कने बाटो कठिन र साँघुरो छ ।

तैपनि, हिँड्ने बाटो त त्यही हो । उसले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ कि कम्युनिस्टभन्दा ऊ नै साँचो समाजवादी पार्टी हो र आमजनताको हित नै उसको सर्वोपरि लक्ष्य हो । उसले सरकारका नीतिमा हुने चुक वा सरकारको गलत रबैयाविरुद्ध ‘वाच डग’ बनेर जनताको सुखदुःखमा सधैँ साथ रहने पार्टीको छवि बनाउन अग्रसर हुनुपर्छ ।

यतिवेला यो कठिन र चुनौतीपूर्ण बाटो छाडेर कांग्रेस मध्यबाट दक्षिणको बाटो हिँड्ने खतरा छ । किनकि दक्षिणपन्थको बिउ कांग्रेसमा भरमार छ । आर्थिक क्षेत्रमा त्यसको झन्डा रामशरण महत र महेश आचार्यले बोकेका छन् भने सामाजिक सांस्कृतिक क्षेत्रमा शशांक कोइराला र शेखर कोइरालाले ।

यिनलाई नेपाल धर्मनिरपेक्ष भएको जँचेको छैन । त्यसैले, अद्यापि हिन्दू राज्यको वकालत गरिरहेकै छन् । फेरि, वाम गठबन्धनविरुद्धको लोकतान्त्रिक गठबन्धन पनि यसले मधेसकेन्द्रित पार्टीहरूसँग होइन, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) सँग बनायो, जसको एजेन्डा नै हिन्दू अधिराज्यको निर्माण हो ।

सिद्धान्ततः लोकतान्त्रिक समाजवाद परित्याग गरेर नवउदारवादी लोकतन्त्रको मार्ग अवलम्बनले पु-याउने भनेको दक्षिणपन्थतर्फ नै हो । अहिलेको अवस्थामा अब कांग्रेस बेलायतको लेबर पार्टी वा जर्मनीको सोसल डेमोक्य्राटिक पार्टी होइन, ती मुलुकका कन्जरभेटिभ वा क्रिस्चियन डेमोक्य्राटिक युनियन जस्तो बन्ने सम्भावना बढी छ ।

एक वाक्यमा भन्नुपर्दा नेपालमा उच्च वर्गका स्वार्थ र पुरातन मूल्यको संरक्षण गर्ने भन्दै अनुदारवादी बाटोबाट मात्र कांग्रेसले आफूलाई पुनर्गठित गर्न र राजनीतिक विकल्प दिने अवस्था छ । सुन्दा तितो लाग्न सक्छ, तर समकालीन यथार्थ यही हो ।

यसको अर्थ कांग्रेसको समाजवादतर्फ पुनरागमनको बाटो पूरै बन्द भयो भन्ने होइन । एक त संविधानले पनि त्यति पर जान दिँदैन । अर्कातिर वाम गठबन्धनको प्रयोग बिथोलियो वा असफल भयो भने समाजवादी बाटो सबैका लागि खुला रहन्छ ।

यस्तोमा कुनै वेला कमैयामुक्ति, जग्गा हदबन्दी र मन्त्री हुँदा गगन थापाले जनस्वास्थ्यको सवालमा गरेका प्रगतिशील पहलको सम्बलले उसलाई समाजवादतर्फ फर्काउन मद्दत गर्न सक्छ । तर, त्यसका लागि ठूलै राजनीतिक वैचारिक आत्ममन्थनको आवश्यकता छ ।

नेतृत्वको सवाल

वस्तुतः यी दुईमध्ये जुन बाटो हिँड्न पनि ०१७ सालपछिको विद्यार्थी आन्दोलनबाट स्थापित र यतिवेला कांग्रेसको नेतृत्व ओगटेर बसेका नेताहरूबाट सम्भव छैन । ती सोच, व्यवहार र ऊर्जा सबै हिसाबले पड्किसकेका बारुद जस्ता छन्, जसको अनुभव त काम लाग्ला नेतृत्व लाग्दैन ।

तर, कांग्रेसको समस्या कहाँ छ भने त्यसका नेतामध्ये जसको जनतामा राम्रो छवि छ, तिनको संगठनमा पकड छैन र जसको संगठनमा पकड छ, ती जनतासामु बदनाम छन् । वस्तुतः समयक्रममा कांग्रेस ‘मास’ पार्टीबाट ‘क्याडर’ पार्टी बन्न पुग्यो र नेतृत्व लिनेहरूले मुलुकभरिको क्रियाशील सदस्यताको चाबी यसरी कब्जामा लिएका छन् कि त्यो जालो पन्छाएर अघि बढ्न त्यति सजिलो छैन । तर, अघि नबढी धरै छैन किनकि पार्टी संगठन मात्र कब्जा गरेर के हुन्छ जब कि मुलुकको शासनको बागडोर अन्तै छ ।

अनुभव र ऊर्जाको मिश्रण

नेतृत्व परिवर्तनको कांग्रेसको इतिहास हेर्ने हो भने अहिलेसम्म त्यसमा सभापति परिवर्तनका जम्मा दुई ‘मोडेल’को अभ्यास छ, एउटा मरणोपरान्त र अर्को विस्थापन । यी दुईमध्ये बढी अभ्यास गरिएको पहिलो ‘मोडेल’ हो, जसअन्तर्गत बिपीको शेखपछि किशुनजी आए, गिरिजाबाबुको शेखपछि सुशीलजी र उनको शेखपछि देउवाजी ।

दोस्रो त अपवाद जस्तो छ, जसमा गिरिजाबाबुले किशुनजीलाई पाखा लगाएर सभापति भए । अब यसपटक शेखपछि नेतृत्व परिवर्तनको बाटो कुर्ने कि कोही बाँका वीर निस्केर वर्तमान सभापतिलाई पाखा लगाई पार्टीको उद्धार गर्ने ?

पहिलो बाटोले पार्टीको भविष्य अन्धकार बनाउँछ भने दोस्रोले यसलाई वैचारिक र रणनीतिक रूपमा पुनर्गठित गरेर पुनः ऊर्जावान् बनाउन सक्छ । सघन आत्ममन्थनबाट अनुभव र ऊर्जाको मिश्रण गर्ने तेस्रो बाटो पनि छ । कुन बाटो हिँड्ने, रोजाइ कांग्रेसजनकै हो ।

हेरौँ, निर्वाचनको समीक्षा गर्न बसिरहेको कांग्रेसको केन्द्रीय समितिको बैठक टालटुलमै टुंगिन्छ कि यसले कुनै गतिशील मोड लिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्