यसकारण बच्चाबच्चीहरुलाई मोबाइल अधिक मोबाइल खेलाउन दिनु हुँदैन



काठमाडौँ- के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ ।मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या आउन सक्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका अनुसार स–साना नानीहरुको आँखाको रोगको एउटा कारण मोबाइल पनि हुने गरेको छ ।

नयाँ बिरामी २०० तथा पुरानो बिरामी २०० गरी दैनिक ४०० भन्दा बढी आँखाका रोगीको उपचार सेवा दिँदै आएको त्यस केन्द्रमा विशेष गरी मोतियाबिन्दु, आँखाको पर्दा च्यातिएको समस्या भएका आँखा रोगी, सुगर तथा प्रेसरका कारण उत्पन्न हुने आँखा रोगी, उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।

विशेषज्ञ पौडेलले भन्नुभयो– गर्मी मौसम पनि शुरु भइसकेकाले आँखाका बिरामी विशेष गरी सतर्क हुनुपर्छ । यो समयमा स–साना बालबालिकालाई आँखा रातो हुने तथा आँखा पाक्ने समस्या उत्पन्न हुन्छ ।

आँखा शरीरको महत्वपूर्ण अंग भएकाले हरेक व्यक्तिले कम्तीमा छ महिनामा एकपटक आँखाको जाँच गराउनुपर्छ र सन्तुलित भोजन विशेष गरी सागपात बढी सेवन गर्नुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।

त्यस्तै, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखालाई समस्या हुने पौडेलको धारणा छ । उमेर अनुसार अर्थात ४५ वर्ष नाघेका व्यक्तिमा मोतियाबिन्दु रोग लाग्न सक्ने सम्भावना हुन्छ । आँखाको पर्दा च्यातिएर हुने समस्या विशेष गरेर चोटपटक लागेर वा दुर्घटना भएर हुने गरेको छ ।

अर्को कारण हो माइनस १५ देखि माइनस २० पावरको चस्मा लगाउने व्यक्तिमा पनि आँखाको पर्दा च्यातिन सक्ने सम्भावना हुन्छ । उहाँका अनुसार माइनस १० पावरको चस्मा लगाउने आँखा रोगीले समय समयमा जाँच गरेर आँखाको ख्याल राख्नुपर्छ ।

केन्द्रमा आँखा जँचाउन आउनुभएका रामेछापका सुरेश घिमिरेले आँखाको ज्योति नै मेरो सम्पत्ति भएकाले हरेक वर्ष आफैँले आँखा जाँच गराउँदै आएको बताउनुभयो । कामको सिलसिलामा कम्प्युटर, ल्यापटप तथा मोबाइलको प्रयोगले आँखा अलि कति कमजोर भएको अनुभूति आफूलाई लागेको उहाँले बताउनुभयो । tajakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्