अचम्मका कुरा

एकलाख दिएरपनि गोप्य रहन सकेन बलात्कार घटना

By थाहा अनलाइन

April 28, 2018

काभ्रे

श्रीमान विदेश गएको मौका पारेर युवतीलाई बलात्कार गर्ने एक पुरुषले घटना लुकाउन एकलाख रुपैयाँ दिएको खुलेको छ ।

बलात्कार गर्ने पुरुषलाई जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

रोशी गाउँपालिका १ घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा बस्दै आएका ५२ वर्षीय रामशरण दमार्इँले वडा नं ३ कुण्डलेस्थित आफ्नै खेतमा तोरी लिन गएकी २६ वर्षीया युवतीलाई जबरजस्ती गरेका थिए ।

२०७४ चैत १ गते युवतीलाई जबरजस्ती गरी कसैलाई नभन्नु भने मारिदिन्छु भन्दै धम्की दिए । युवती रुँदै तोरी लिएर फर्किन् । केही समय उनले घरमा घटनाबारे केही भन्न सकिनन् ।

सासुसँगै रहेकी ती युवतीले केहीदिनपछि घटनाबारे आमाजु र जेठानीलाई भनिन् । उनका श्रीमान ७ वर्षदेखि कतारमा छन् । उनी परिवारकी कान्छी बुहारी हुन । यसैबीच दमार्इँले चैत २१ गते एकान्तमा लगेर घटनाबारे समाजमा नभन्न र प्रहरीमा उजुरी नगर्न दबाब मात्र दिएनन्, युवतीका ससुराको हातमा एक लाख रुपैयाँ थमाइदिए ।

पैसा नलिए बाँकी नराख्ने धम्की दिएपछि युवतीका ससुराले नोटको बिटो समाए । तर चैत २२ बिहान बुहारीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिइन् ।

यससँगै प्रहरीले दमाईँलाई पक्राउ गरी वैशाख १३ गते पुर्पक्षका लागि थुनामा राखेको छ । दमाईँ युवतीका श्रीमान् विदेश गएदेखि प्रेम रहेको र सहमतिमै सम्बन्ध राख्दै आएका सम्त्रन्ध रहँदै आएको बयान दिएका छन् ।