विवाह मण्डप वाटै दुलाहादुलही पक्राउ



सैघाली खबर
रुकुम , १५ वैशाख । जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहादुलहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँपालिका(७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो ।

सानीभेरी गाउँपालिका(१० अर्माका १८ वर्षीय बालक र सानीभेरी(७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार केटीका अभिभावक शिक्षक छन् । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद् भएको उनको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले दुलाहादुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।

अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ । सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्