बौद्ध दर्शनको महत्व



शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६२औँ जन्मजयन्ती स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ सोमबार मनाइँदै छ । विभिन्न ठाउँमा रहेका गुम्बा, चैत्य, विहार, स्तुपमा प्रवचन, प्रभातफेरी र शोभायात्रा निकालिन्छ ।

 

विगतमा झैँ यस वर्ष पनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘लुम्बिनी, नेपाल भगवान् बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्भव भूमि तथा विश्व शान्तिको मुहान्’ नारासहित सुरु गरिएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ । बौद्ध धर्म र दर्शनलाई विश्वभर स्थापित गर्ने, बृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने, लुम्बिनीलाई बौद्ध अध्ययन केन्द्र बनाउने र नेपालको संस्कृति, सम्पदा तथा धार्मिक पर्यटनको विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिँदै आएको छ ।

 

सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाकै दिन भएकाले यस दिन बौद्ध धर्मावलम्बीद्वारा त्रिसंयोग दिवसका रूपमा मनाइन्छ । हिन्दु दर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्छ । त्यसैले वैशाख पूर्णिमामा हिन्दु र बौद्ध धर्मावलम्बीद्वारा बुद्ध जयन्ती मनाउने प्रचलन छ । किरात धर्मावलम्बीले आजकै दिन उभौली पर्व मनाउँछन् । त्यसैले विभिन्न धर्म र भाषा संस्कृति भएका मानिसको साझा पर्वका रूपमा बुद्ध जयन्ती मनाउने परम्परा छ ।

 

आजभन्दा २५६२ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख पूर्णिमाका लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबारको सुखसयल छाडेर ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको तपस्यापछि इसापूर्व ५२८ मा बौद्धगयाको बोधिवृक्षमुनि वैशाख पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गर्नुभएको हो । भगवान् बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्ष अनवरत प्रचारपसार गर्नुभयो । त्यसैलाई बौद्ध दर्शन भन्न थालियो र यसले छुट्टै धार्मिक सम्प्रदायको रूप ग्रहण ग¥यो । उहाँले ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन भारतको कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभयो ।

बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक ३६ वर्षको उमेरमा गौतम बुद्धले भारतकै सारनाथमा पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएको थियो, जसमा उहाँले संसार दुःखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भनेर उपदेश दिनुभएको थियो ।

 

दुःखलाई नाश गर्ने तृष्णा क्षय गर्ने आठ मार्ग भनी गौतम बुद्धले ज्ञान दिनुभएको छ । उहाँले सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि गरी आठ मार्गबाट दुःख नाश हुने बताउनुभएको थियो । चोरी नगर्नु, झुटो नबोल्नु, व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु बुद्धका पञ्चशील उपदेश हुन् । यी उपदेश मानव समुदायका लागि आज पनि उत्ति नै सान्दर्भिक छन् । बौद्ध दर्शनको सार्थकता व्यावहारिक धरातलमै अनूदित हुनु जरुरी छ ।

गौतम बुद्धको मूल शिक्षा नै शान्ति र अहिंसा हो । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिनुभएको छ, जुन आधुनिक समाजमा पनि उत्तिकै सान्दर्भिक छ । विभिन्न मुलुकबीच हातहतियारको प्रतिस्पर्धा, समूह–समूहबीच द्वन्द्व, हिंसा व्याप्त रहेको अवस्थामा आधुनिक विश्वमा बुद्धका शिक्षा झन् सान्दर्भिक बनेका छन् ।

विभिन्न जातजाति, भाषाभाषी र धार्मिक तथा सांस्कृतिक सम्प्रदायबीच सहिष्णुता कायम राखी राष्ट्रिय एकता बलियो बनाउन पनि सिद्धार्थ गौतमका उपदेश र मार्गदर्शन उत्तिकै उपयुक्त छन् । चीन, भारत, श्रीलङ्का, भुटान, म्यान्मा, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरियालगायतका देशमा ठूलो सङ्ख्यामा बौद्ध धर्मावलम्बीको बसोबास छ ।

 

विश्वभर फैलिएर ३५ करोडभन्दा बढीको सङ्ख्यामा रहेका बौद्ध धर्म दर्शनको उद्भव स्थल भने नेपाल भएकाले बौद्ध धर्म दर्शनको प्रवद्र्धन, अध्ययन नेपालका लागि लाभदायक छ । यसले नेपाललाई शान्ति भूमिका रूपमा विश्वमा चिनाउनुका साथै विश्वभरका बौद्ध धर्मावलम्बीको तीर्थ स्थलका रूपमा रहेको लुम्बिनीमा पर्यटन प्रवद्र्धन गरेर नेपालको पहिचान र आर्थिक विकासमा उपयोग गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्