सर्वोच्चको आदेश अवज्ञा गर्दै सारियो गाउँपालिकाको कार्यालय



सैघाली खबर,
रुकुम १७ बैशाख । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत कार्यालय सारेको छ। गाउँ कार्यपालिकाको गत चैत्त २८ को निर्णय कार्यान्वन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरे पनि अवज्ञा गर्दै कार्यालय सारिएको हो। कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्रको वडा नम्बर ३ खारानेटामा कायम गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध परेको रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म खारानेटामा गाउँपालिका नसार्न आदेश दिएको थियो।

बैशाख ७ मा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले अर्को आदेश नभएसम्मका लागि वडा नम्बर २ को सिम्रतुमा कार्यालय स्थापना गरेर सोही ठाउँबाट कामकाज चलाउन निर्देशन पनि दिएको थियो। तर आइतबार गाउँपालिकाले हालसम्म कामकाज चलाउँदै आएको वडा नम्बर ७ को मुरुडाँडाबाट खारानेटामा कार्यालयका सरसामग्री सारेको छ।

आइतबार कार्यालयका सरसामग्री सारिएपनि गाउँपालिकाले भने बैशाख ६ देखि नै खारानेटाबाट गाउँपालिकाको कामकाज सञ्चालन हुँदै आएको सूचना निकालेको छ।

वडा नम्बर १ का वडाध्यक्ष मोहनकिशोर ओलीले सर्वोच्चमा विचाराधीन मुद्दाको टुङ्गो नलाग्दै बहुमतको बाहानामा कार्यालय सारीएको आरोप लगाए।गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले स्थानीय तहको स्वायत्त सरकारले गरेको निर्णय कार्यान्वन गरिएको दाबी गरे। ‘यो निर्णय स्वायत्त सरकारले गरेको हो,उनले भने, गाउँपालिकाको केन्द्र खारानेटा बनाउने बहुमतका साथ निर्णय भएपछि सामग्री कहिले सार्‍यो भन्ने महत्वपूर्ण होइन।’ गत चैत २८ मा बसेको गाउँ कार्यपालिकाको बैठकले गत असोज ६ र ७ मा बसेको गाउँ सभाको निर्णय उल्ट्याउँदै खारानेटा गाउँपालिकाको केन्द्र तोकेको थियो।

असोज ६ र ७ को गाउँ सभाको बहुमतले गाउँपालिकाका केन्द्र सिम्रुतु–खारानेटा तोेकेको थियो। सिम्रुतु वडा नम्बर २ मा पर्छ भने खारानेटा ३ मा पर्छ। उक्त निर्णय राजपत्रमा समेत प्रकाशन भएको थियो। गाउँसभाबाट दुई ठाउँमा केन्द्र राख्ने निर्णय भएको र त्यो कार्यान्वनमा समस्या भएको भन्दै चैत २८ को गाउँ कार्यपालिकाको बैठकले खारानेटामै गाउँपालिका केन्द्र बनाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध वडा नम्बर ७ का मीनबहादुर ओलीले सर्वोच्चमा रिट हालेका थिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्