निजीलाई टक्कर दिने सामुदायिक विद्यालय



सैघाली खबर,
बैशाख १९ । विद्यार्थी संख्या घट्दै गइरहेको वेला बाँकेका केही सामुदायिक विद्यालयमा भर्नाका लागि अभिभावकले ‘सोर्सफोर्स’ लगाउने गरेका छन् । शैक्षिक वातावरण राम्रो भएको र विगतमा राम्रो नतिजा ल्याएका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप रहेको छ ।

 

नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीमा रहेको धम्बोझी माविमा विद्यार्थीको चापले भर्ना नपाएपछि निराश भएर फर्कनुपर्ने अवस्था छ । निजी तथा आवासीय विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि धम्बोझी माविलाई विद्यार्थी चाप थेग्न मुस्किल परेको हो ।

विद्यालयका प्रधानाध्यापक किरण आचार्यले विद्यालयमा राम्रो वातावरण भएकाले विद्यार्थी संख्या धेरै बढेको बताइन् । सो विद्यालयमा भर्ना मात्र होइन विद्यार्थी टिकाउको अवस्था पनि उत्तिकै राम्रो छ । नियमित रूपमा विद्यालय नआउने बालबालिकाका अभिभावकलाई प्रतिबद्धता जनाउन लगाएर मात्रै भर्ना लिने गरिएकाले नियमित रूपमा विद्यार्थी विद्यालय आउने गरेको प्रअ आचार्यले बताइन् । ‘नियमित रूपमा विद्यालय आउने बनाउने दायित्व विद्यालयको पनि हो,’ उनले भनिन्, ‘विद्यालयले राम्रो वातावरण दिन सक्यो भने विद्यार्थीलाई विद्यालयमा टिकाउन सकिन्छ ।’

निजी छोडेर सामुदायिकमा
विद्यालयको भौतिक र शैक्षिक वातावरण राम्रो भएपछि धम्बोझी मावि अभिभावक र विद्यार्थीको रोजाइमा परेको हो । निजी विद्यालयले दिने शिक्षा चित्त बुझेपछि नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका छायादत्त शर्माले धम्बोझी माविमा भर्ना गरेका छन् । निजीभन्दा सामुदायिक धम्बोझी माविको शिक्षा व्यावहारिक र समय सुहाउँदो भएकाले छोरीलाई धम्बोझी माविमा भर्ना गरेको उनले बताए । ‘सामुदायिक विद्यालयमा मौलिकता हुन्छ, उत्कृष्ट लेखन शैली र अभिव्यक्ति शैली राम्रो हुन्छ,’ उनले भने, ‘बोर्डिङ स्कुलको घोकन्ते विद्याले उच्च शिक्षामा टेवा पुर्याउन नसकेको देखिन्छ ।’ शर्मा उदाहरण मात्र हुन्, धेरै अभिभावकले निजीबाट आफ्ना बालबालिका सामुदायिकमा भर्ना गरेका छन् । कतिपयले भने माथिल्लो तहमा छात्रवृत्ति पाउने लोभमा निजीबाट सामुदायिकमा भर्ना गरेका छन् ।

तीन सिफ्टमा पढाउँदै धम्बोझी मावि
धम्बोझी माविले एउटै सिफ्टमा सबै विद्यार्थीलाई पढाउन नसक्ने भएपछि तीन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ । गत वर्ष कक्षा ९ मा २०९ जना विद्यार्थी भएका थिए । भने, कक्षा १० मा १६४, कक्षा ११ मा २१७ र १२ कक्षामा २७५ जना अध्ययनरत विद्यार्थी छन् । ‘एउटै सिफ्टमा अध्यापन गराउने हो भने विद्यालयको भौतिक संरचनाले धान्न सक्दैन,’ धम्बोझी माविका प्रधानाध्यापक श्रीमती किरण आचार्यले भनिन् ।

भर्ना गर्न दाबाब दिँदै अभिभावक
धम्बोझी माविमा विद्यार्थीको संख्या धेरै भएर सबैलाई भर्ना गर्ने अवस्था नभएपछि अभिभावकले दबाब दिने गरेका छन् । प्रअ आचार्यले विभिन्न उपाय लगाएर विद्यालयलाई प्रभाव पार्ने प्रयास गर्ने गरेको बताइन् । ‘छोराछोरी भर्नाका लागि आउने अभिभावक रुने, आग्रह, अनुरोध गरेर पनि भर्ना गराउन नसकेपछि झगडा गर्ने र धम्कीसमेत दिन पछि पर्दैनन्,’ उनले भनिन् ।

अभिभावकले विभिन्न किसिमका प्रभावमा पार्ने प्रयास गरे पनि राजनीतिक दलका नेता र कार्यकर्ताबाट कुनै पनि दबाब नआएको प्रधानाध्यापक आचार्यले बताइन् । उनले आफू राजनीतिक दलको प्रभाव र दबाबमा नपर्ने बताइन् ।

प्राविधिक शिक्षामा विशेष जोड
धम्बोझी माविले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षालाई अनिवार्य बनाएको छ । विद्यालयले कक्षा ९ र १० देखि नै कम्प्युटर ओभरसियर शिक्षा प्रदान गर्दै आएको छ । ‘व्यावहारिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेका कारण विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ,’ प्रअ किरण आचार्यले भनिन् ।

उनले कक्षा ११ र १२ मा कानुन, कम्प्युटर, ओभरसियर, साइन्स, व्यवस्थापन, शिक्षा र मानविकी विषय पढाइ हुने गरेको बताइन् । त्यसैगरी, कक्षा ९, १० र ११ मा ऐच्छिक कम्प्युटर विषय पनि अध्यापन गराएको छ । ‘बजारमा बिक्री हुने विषयलाई विद्यालयले प्राथमिकता दिएको छ, हामीले विद्यार्थीको रोजाइलाई समेत ध्यानमा राखेर विषय छनोट गर्दै आएका छौँ,’ प्रधानाध्यापक आचार्यले नयाँ पत्रिकासँग भनिन् । धम्बोझी माविमा अध्ययनका लागि दैलेख, अछाम, मुगु, बर्दिया, सुर्खेतबाट विद्यार्थी आउने गरेको विद्यालयले जनाएको छ ।

यी हुन् निजीलाई टक्कर दिने विद्यालय
सिकाइ उपलब्धि राम्रो भएपछि बाँकेका सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा परेका छन् । कोहलपुरस्थित त्रिभुवन माविले विद्यार्थी आकर्षित गर्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न अङ्ग्रेजी माध्यममा अध्यापन गराउन सुरु गरेको छ । अंग्रेजी माध्यम र पढाइको वातावरण बनेपछि विद्यार्थी संख्या धेरै बढेको प्रधानाध्यापक देउमाया थापाले बताइन् ।

खजुरास्थित ज्ञानोदय माविमा पनि विद्यार्थीको उत्तिकै घुइँचो लागेको छ । भर्ना हुन चाहने विद्यार्थीको घुइँचो लागेपछि प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए ।

खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि र फत्तेपुरको सिद्धेश्वर माविको उत्कृष्ट नतिजाका कारण विद्यार्थीको आकर्षण धेरै छ । गत वर्षको एसइई परीक्षामा राम्रो नतिजा ल्याएको कौशिला नगरस्थित कृष्ण माविमा पनि विद्यार्थीको सङ्ख्या बढ्दो छ । एक मावि शिक्षक दरबन्दी रहेको सो विद्यालयले विद्यार्थी आकर्षित गर्न सफल भएको छ । nayapatrika

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्