यसरी नियन्त्रणमा लिइयो चीनलाई उपहार दिने गैंडा



चितवन, वैशाख २१ सैघाली खबर

नेपालले चीन सरकारलाई उपहार दिन लागिएका दुई जोडी गैँडा नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैँडा तथा गैँडा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको हो ।

बाढीले बगाएपछि उद्धारगरी सौराहामा राखिएको एउटा भाले गैँडा पनि उपहार दिइने भएपछि तीन गैँडा नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बिहीबार सुखिभारबाट करीब दुई वर्षको पोथी गैँडा नियन्त्रणमा छ ।

ती गैँडालाई सौराहामा बनाइएको पिट बुमामा राखिएको छ । बाढीले बगाएपछि उद्धार गरिएको गैँडा प्रकृति संरक्षण कोषमा छ । चीन पठाउन लागिएका गैँडा दुई वर्ष हाराहारीका रहेको बताइएको छ ।

बच्चा गैँडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको थियो । गैँडाको बच्चा तीनचार वर्षसम्म आमासँगै रहन्छ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने हुँदा लिङ्ग पहिचान गर्न कठिन भएकालेपनि नियन्त्रणमा लिन लामो समय लागेको एक कर्मचारीले जानकारी दिए।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैँडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । उनीहरुलाई शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

गैँडा नियन्त्रण र आनीबानी लगायत कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि सँगै छन । केही दिन पिट बुमामा राखेर गैँडाले खाना खान सहज भएपछि खुल्ला बुमामा छाडिनेछ । करीब तीन महिना बुमामा राखेपछि गैँडा चीन पठाइनेछ ।

विसं २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । नेपाली विज्ञ टोली गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययन समेत गरेर फर्केको थियो । यस अघिपनि नेपालले विभिन्न देशलाई गैँडा उपहार दिँदै आएको छ ।

–रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्