महिनावारी स्वच्छता दिवस सरकारी स्तरबाट बनाउने खानेपानीमन्त्री बिना मगरको घोषणा



सैघाली खबर
काठमाडौं, २१ बैशाख
खानेपानी मन्त्री बिना मगरले हरेक वर्ष २८ मेका दिन मनाइने अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई यसपालिदेखि सरकारी स्तरबाट मनाउने घोषणा गर्नुभएको छ ।मन्त्रालयमा आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैंठकलाई सम्बोधन गर्दै मन्त्री मगरले दिवसलाई सरकारी स्तरबाट मनाउँदा जनचेतना फैलाउन सहयोग पुग्ने बताउनुभयो । ‘महिनावारी स्वच्छताको विषय चेतना र संस्कारसँग जोडिन्छ । तसर्थ, यसमा सरकारको प्रत्यक्ष संलग्नता हुनुपर्छ,’ मन्त्री मगरले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले दिवसलाई सरकारी स्तरबाट मनाउन आवश्यक भूमिका निर्वाह गर्छ ।’ अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको थियो ।

हालसम्म महिनावारी स्वच्छताका क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागितामा दिवस मनाउने गरिएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले बताउनुभयो । ‘खानेपानी मन्त्री ज्यूको चासो र निर्देशन बमोजिम अबदेखि सरकारी स्तरबाटै दिवस बनाइने छ ।’ दिवस मनाउन खानेपानी मन्त्रालय सँगसँगै स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका र गृह मन्त्रालयलाई समेत संलग्न गराइने जनाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालको संयोजकत्वमा समिति गठन गरेर दिवस तयारीको काम गरिने मन्त्रालयका सचिव कृष्णराज बिसीले बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी स्वच्छताका लागि चेतनास्तर उन्नति गर्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो । ‘महिनावारीका विषयमा बोल्ने र घरपरिवारमा छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘छाउगोठ भत्काएर मात्रै पर्याप्त सुधार ल्याउन सकिँदैन ।’ बैठकमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै प्याड प्रयोग गर्ने गरेका छन् । विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत र स्वच्छता व्यवस्थापनको विषय जटिल बन्ने गरेको बैठकमा जनाइएको छ । विद्यालयमा महिलामैत्री शौचालय नहुँदा समेत समस्या हुने गरेको जनाइएको छ ।

महिनावारी स्वच्छताका विषयलाई छलफलमा मात्रै सीमित नराखेर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री मगरले जोड दिनुभयो । ‘महिनावारीको विषय हाम्रो समाजमा संस्कार र धर्मसँग पनि जोडिएको छ । धर्म संस्कारबाट महिनावारीमा हुने छुवाछुतलाई गलत गर्नु चुनौतिपूर्ण रहेको छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले धेरै मेहनत र परिश्रम गर्नुपर्छ ।’ महिनावारीका बेला देखिएका विकृति हटाउन स्थानीय तह, प्रदेश र संघमा निर्वाचित भएका महिला नेतृत्वलाई परिचालन गर्नुपर्ने मन्त्री मगरले बताउनुभयो । ‘महिनावारीका विषयमा सबैभन्दा पहिला राजनीतिक नेतृत्वको बुझाई स्पष्ट हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा हरेक वडामा कम्तिमा पनि २ जना महिला निर्वाचित हुनुभएको छ, उहाँहरूको सहयोगले चेतनास्तरमा धेरै परिवर्तन गर्न सकिन्छ ।’

सरकारले जननिर्वाचित नेतृत्वको घरमा महिनावारी छुवाछुत अन्त्यका लागि निर्देशनात्मक आदेश दिनुपर्ने उहाँले बताउनुभयो । हरेक गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक कार्यकर्तालाई समेत परिचालन गरेर महिनावारीबारे चेतनास्तर बढाउनुपर्ने उहाँले बताउनुभयो । ‘महिनावारी स्वच्छताका लागि दुर्गम क्षेत्रमा पनि प्याडको सहज पहुँच पु¥याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘महिलाले नै उद्योग स्थापना गरेर महिलाका लागि प्याड उत्पादन गर्न सक्ने नीति सरकारले ल्याउनुपर्छ ।’

महिनावारीका विषयमा चेतनास्तर बृद्धि गर्न पुरुषको पनि महत्वपूर्ण भूमिका हुने मन्त्री मगरले बताउनुभयो । ‘अभिभावकको रुपमा हेरिने भएकाले पुरुषले भनेको सबैले मान्छन्, त्यही अनुसार पुरुषले पनि भूमिका निर्वाह गर्नुप¥यो,’ उहाँले भन्नुभयो । बैठकमा महिनावारी स्वच्छताका क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्