मुख्य समाचार

सेनाद्धारा २६ सडक आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न

By थाहा अनलाइन

May 04, 2018

सैघाली खबर काठमाडौं, २१ बैशाख

नेपाली सेनाले हालसम्म देशभरका २६ सडक आयोजनाको ट्रयाक खोल्ने काम सकेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म १ हजार ४८ किलोमिटर सडक निर्माण भएको हो । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् ।

नेपाली सेनाले सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चामे, मुसीकोट–बुर्तिवाङ, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान– मुसीकोट, अबुवा–भच्चेक, गोरखा–आरुघाट सडकको ट्रयाक खोलेको हो । होलेरी–चुनावाङ, खाडीचौर–बाह्रबिसे, माइतीघर–भद्रकाली, रायचौर–फारुलाचौर, मुसीकोट–सल्ले सडक आयोजनाको ट्रयाक खोल्ने कार्य पनि नेपाली सेनाबाट भएको थियो । अहिले नेपाली सेनाले मुलुकका पाँच सडक आयोजनाको पाइलट ट्रयाक खोल्ने काम गरिरहेको छ ।

नेपाली सेनाबाट निर्माणाधीन सडकको लम्बाइ ४ सय ७३ किलोमिटर रहेको नेपाली सेनाको विकास निर्माण निर्देशनालयले जनाएको छ । निर्माणाधीन आयोजनामा जाजरकोट–दुनै, कालीगण्डकी करिडोर, त्रिशूली–स्याफ्रुबेँशी, कर्णाली करिडोर र गोरखा–अरुघाट—लार्के सडक रहेका छन् । डोल्पाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न जाजरकोट–दुनै सडक निर्माण यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ तीव्रस्तरमा ट्रयाक खोल्ने काम भइरहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।