सुन तस्करी र हत्या प्रकरणको बयान सकियो



सैघाली खबर

विराटनगर , २१ वैशाख । सुन तस्करी र भरिया सनम शाक्य हत्या मुद्दाका ५ जना अभियुक्तको बयान शुक्रबार सकिएको छ । हत्याका प्रतिवादीहरुमध्ये राजन कुमार, माधव भनिने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्कीको बयान सकिएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले बताए । उनका अनुसार हत्याकै प्रतिवादी एकराज मल्ल ठकुरीको बयान नसकिएकाले आइतबार फेरि लिइने छ ।

आइतबारैदेखि अरू अभियुक्तको पनि बयान लिन सुरू गरिने दुलालले जनाए । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा हत्यामा संलग्न भनिएकाहरुको बयान लिइएको हो । बयान लिइएका ६ मध्ये मोरङ, उर्लाबारीका काफ्ले, कार्की र ठकुरी सुनका भरिया भनिएका शाक्यको शव बरामद भएसँगै फागुन १९ गते पक्राउ परेका थिए । शाक्यलाई कुटपिट र करेन्ट लगाएर यातना दिइ हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलको टोलीले फागुन १९ गते बा१२च ५९६३ नम्बर स्कारपियो गाडीको सिटमुनी लुकाएर राखेको अवस्थामा शाक्यको शव फेला पारेको थियो । घटनामा संलग्न उनीहरुलाई विराटनगर महानगरपालिका(३ मा पक्राउ गरी मोरङ प्रहरीलाई बुझाइएको थियो । यसअघि प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी बुझाएको अभियोगपत्रसहित जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दायर गरेको थियो । त्यसै आधारमा शुक्रबारसम्म ५ जनाको बयान लिने काम सकिएको छ । वैशाख २५ गतेभित्र बयान सकेर थुनछेकका लागि बहस अघि बढाउने तयारी अदालतको छ ।

६३ जना प्रतिवादी रहेको यो मुद्दाको अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसाबराबरको बिगो माग दाबी प्रस्तुत गरिएको छ ।

यसैबीच, मुद्दामा सरकारलाई सघाउन सरकारी वकिलहरुको समूह बनाइएको छ । समूहमा उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्