महिनावारी स्वच्छता दिवस सरकारी स्तरबाट मनाइने



सैघाली खबर,
काठमाण्डौ २२ बैशाख।
खानेपानीमन्त्री बिना मगरले हरेक वर्ष २८ मेका दिन मनाइने अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसलाई यसपालिदेखि सरकारी स्तरबाट मनाउने घोषणा गरेकी छन्।

मन्त्रालयमा आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको वैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले दिवसलाई सरकारी स्तरबाट मनाउँदा जनचेतना फैलाउन सहयोग पुग्ने बताइन्।

‘महिनावारी स्वच्छताको विषय चेतना र संस्कारसँग जोडिन्छ। तसर्थ, यसमा सरकारको प्रत्यक्ष संलग्नता हुनुपर्छ,’ मन्त्री मगरले भनिन्, ‘हाम्रो मन्त्रालयले यसनिम्ति आवश्यक भूमिका निर्वाह गर्छ।’

अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो।

हालसम्म महिनावारी स्वच्छताका क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागीतामा दिवस मनाउने गरिएको सञ्जालका संयोजक गुणराज श्रेष्ठले बताए।

दिवस मनाउन खानेपानी मन्त्रालय सँगसँगै स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका र गृह मन्त्रालयलाई समेत संलग्न गराइने जनाइएको छ। खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालको संयोजकत्वमा समिति गठन गरेर दिवस तयारीको काम गरिने मन्त्रालयका सचिव कृष्णराज बिसीले बताए।

बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले महिनावारी स्वच्छताका लागि चेतनास्तर उन्नति गर्ने विषय महत्वपूर्ण रहेको बताइन्।

‘महिनावारीका विषयमा बोल्ने र घरपरिवारमा छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भनिन्, ‘छाउगोठ भत्काएर मात्रै पर्याप्त सुधार ल्याउन सकिँदैन।’

बैठकमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै स्यानिटरी प्याड प्रयोग गर्छन्। विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत र स्वच्छता व्यवस्थापनको विषय जटिल बन्ने गरेको छ। विद्यालयमा महिलामैत्री शौचालय नहुँदा समेत समस्या हुन्छ।

महिनावारी स्वच्छताका विषयलाई छलफलमा मात्रै सीमित नराखेर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री मगरले जोड दिइन्।

‘महिनावारीको विषय हाम्रो समाजमा संस्कार र धर्मसँग पनि जोडिएको छ। धर्म–संस्कारबाट महिनावारीमा हुने छुवाछुत हटाउनु चुनौतीपूर्ण छ,’ उनले भनिन्, ‘यसका लागि हामीले धेरै मेहनत र परिश्रम गर्नुपर्छ।’

महिनावारीबेला देखिएका विकृति हटाउन स्थानीय तह, प्रदेश र संघमा निर्वाचित भएका महिला नेतृत्वलाई परिचालन गर्नुपर्ने मन्त्री मगरले बताइन्।

‘महिनावारीका विषयमा सबैभन्दा पहिला राजनीतिक नेतृत्वको बुझाई स्पष्ट हुनुपर्छ,’ उनले भनिन्, ‘स्थानीय तहमा हरेक वडामा कम्तिमा पनि २ जना महिला निर्वाचित हुनुभएको छ, उहाँहरूको सहयोगले चेतनास्तरमा धेरै परिवर्तन गर्न सकिन्छ।’

सरकारले जननिर्वाचित नेतृत्वको घरमा महिनावारी छुवाछुत अन्त्यका लागि निर्देशनात्मक आदेश दिनुपर्ने उनले बताइन्। हरेक गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र सामाजिक कार्यकर्तालाई समेत परिचालन गरेर महिनावारीबारे चेतनास्तर बढाउनुपर्ने उनको भनाइ थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्