आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने



सैघाली खबर
काठमाडौं,२२ बैशाख

आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने भएको छ । प्रतिनिधि सभा नियमावाली मस्यौदा समितिले सांसदले आपराधिक काम गरे पनि उन्मुक्ति दिने गरी सहमति गरेको छ । समितिले अपराधिक कार्यमा सांसद संलग्न भए पनि निलम्बन नहुने व्यवस्था गरेको हो । गत वर्षसम्म अपराधिक कार्य गर्ने सांसदलाई निलम्बनको व्यवस्था थियो ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले आपराधिक कार्य गरी पुर्पक्षका लागि थुनामा जाँदा निलम्बन गर्नुको सट्टा सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । समितिका सभापति कृष्णभक्त पोखरेलले शब्दमा निलम्बन भन्ने नराखे पनि पुर्पक्षमा गएका सांसदको सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने बताउनुभयो । समितिमा एमालेका सांसदले आपराधिक कार्य गर्ने सांसदलाई निलम्बनमा गर्नुपर्ने पक्षमा थिए भने कांग्रेस, राष्ट्रिय जनता पार्टी र फोरम निलम्बन गर्न नहुनुपर्ने पक्षमा थिए । माओवादीका सांसद सेवासुविधा रोक्नुपर्ने पक्षमा थिए ।

समितिमा विवाद रहेको विषयगत समितिकोसंख्या पनि आजको बैठकले टुंगो लगाएको छ । विषयगत समिति अब १० वटा हुने पोखरेलले  जानकारी दिनुभयो । बैठकमा कांग्रेस सांसदले ७ वटा विषयगत समिति हुनुपर्ने प्रस्ताव राखेका थिए । नियमवालीमा सहमति जुटेपछि भोलि हुने संसदको बैठकमा पेस हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्