फुटपाथ ब्यबसायमा कडाई, जफत सामान लिलामीको योजना ।।



सैघाली खबर/काठमाण्डौ, २३ बैशाख।
साँझको समयमा काठमाडौं महानगरपालिकाले फुटपाथ अतिक्रमण गरेर ब्यापार व्यवसाय सञ्चालन गर्न नपाईने जनाएको छ । बेलुकी ६ देखि राति १० बजेसम्म फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको बताईएको छ । दिउँसो समयमा केही कडाइ गरे पनि महानगरपालिका साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको थिएन ।

शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई हिड्न समेत अफ्ठेरो भएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताएका छन् ।

उनकाअनुसार अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको छ । अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । अहिले काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ ।

यसैबिच महानगरपालिकाले खुद्रा बजारका लागि तत्काल कुनै विकल्प पनि दिन नसकिने बताएको छ । केही वर्षअघि खुलामञ्चमा लाग्ने बजारलाई सरकारले हटाएको थियो । त्यसपछि फुटपाथमा हुने ब्यापर मौलाएको छ । शहरी निम्न मध्यम वर्गीय परिवारमाझ फुटपाथ बजार लोकप्रिय छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्