पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ



सैघाली खबर,
बैशाख २३ मस्को । राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पुटिनको शपथको पूर्वसन्ध्यामा रुसका विपक्षी नेता नाभाल्नीले सर्वसाधारण नागरिकलाई देशभरका ९० भन्दाबढी सहरमा प्रदर्शनमा उत्रिन आह्वान गरेका थिए। नाभाल्नीले पुटिनलाई जार शासकजस्तै तानाशाहको संज्ञा दिँदै उनीविरुद्धको प्रदर्शनमा आउन सर्वसाधारणलाई आह्वान गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। यसै वर्षको मार्च महिनामा भएको निर्वाचनमा पुटिनले ऐतिहासिक जित हासिल गरेका थिए। जितसँगै पुटिनले फेरि अर्को ६ वर्ष अर्थात् सन् २०२४ सम्म रुसको शक्तिमा आफ्नो पकड जमाएका थिए। जितसँगै रुसमा ३० वर्ष शासन गरेका जोसेफ स्टालिनपछि देशको शासनमा लामो समय रहिरहने व्यक्ति पुटिन बनेका छन्।

६५ वर्षीय पुटिन सन् २००० देखि कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका रूपमा रुसको शक्तिमा रहिरहेका छन्।

राजधानी मस्कोको केन्द्र भागमा रहेको पुसकिन्सकाया स्क्वायरमा भेला भएका युवाले ‘पुटिनरहित रुस’ र ‘जार शासन पतन होस्’ भन्ने नारा लगाएपछि नाभाल्नीलाई पक्राउ गरिएको बताइएको छ। पुटिनविरुद्धको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट बञ्चित गरिएका नाभाल्नीले भने आफूलाई पक्राउ गर्नु सरकारको बहानामात्रै भएको आरोप लगाएका छन्। उनलाई पक्राउ गरिएको बारे सार्वजनिक भएका फुटेजमा पाँच जना प्रहरीले उनको पाखुरा र गोडामा समातेर भ्यानमा हालेको देखिएको छ। विगतमा पनि यस्तै खालका प्रदर्शन गरेको भन्दै पटकपटक पक्राउ पर्दै आएका नाभाल्नीले पक्राउ पर्नु अघि हजारौं सहभागीमाझ संक्षिप्त सम्बोधन गर्न भ्याएका थिए। संक्षिप्त सम्बोधनका क्रममा उनले पुटिनविरुद्धको प्रदर्शनमा उपस्थित मानिसको समूह देख्दा आफू अत्यन्तै खुसी भएको बताएका थिए। राजधानी मस्कोमा प्रदर्शन गरिररहेका अन्य प्रदर्शनकारीलाई पनि प्रहरीले अत्यन्तै व्यवस्थित तरिकाले पक्राउ गरे पनि केहीलाई भने लछारपछार गरेको रोयटर्सले जनाएको छ। पक्राउ परेका प्रदर्शनकारीलाई बसमा राखेर लगिएको थियो। रुसको अर्को महत्वपूर्ण सहर सेन्ट पिटर्सबर्गमा भेला भएका प्रदर्शनकारीलाई भने सरकारले सहरको केन्द्रमा रहेको स्क्वायरमा जानबाट बञ्चित गरेको थियो।

देशमा गरिएको निर्वाचन तानाशाहलाई शक्तिमा राखिरहन गरिएको एउटा योजनाबद्ध निर्वाचन भएको भन्दै त्यसको विरोधमा आयोजना भएको प्रदर्शनमा आफू उपस्थित भएको ७२ वर्षीय पाभेल कुजनेटसोभलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। ‘कठपुतली निर्वाचनविरुद्ध प्रदर्शन गर्न हामी यहाँ भेला भएका हौं,’ उनले बताए। शनिबारको प्रदर्शनमा रुसका विभिन्न सहरबाट करिब तीन सय ५० प्रदर्शनकारी पक्राउ परेको ओभिडी नामक एक मानवअधिकारवादी संस्थाले जनाएको छ।

सरकारी पक्षले भने विपक्षीले शनिबार देशका विभिन्न ठाउँमा गरेको प्रदर्शन गैरकानुनी भएको बताएको छ। सरकारी अधिकारीका अनुसार सरकारले प्रदर्शनकारीका प्रदर्शन स्थल र समयलाई अनुमति दिएको थिएन। राष्ट्रपतिका रूपमा चौथौ कार्यकालका लागि पुटिनको राष्ट्रपति भवन क्रेमलिनमा सोमबार भव्य कार्यक्रमबीच शपथग्रहण समारोह हुँदैछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्