असार १२ दाङ
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरणको कामलाई निरन्तरता दिने भएको छ । दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका मतदातालाई हिजोदेखि परिचयपत्र वितरण शुरु भएको र भोलिसम्म जारी रहने आयोगले जनाएको छ । दोस्रो चरणमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेका छन् । आयोगले मतदाता परिचयपत्र विना मतदान गर्न नपाइने भएकाले आफ्नो मतदान केन्द्रमा गएर परिचयपत्र लिन आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्रमा पुग्नुपर्नेछ । तर कुनै कारणले आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा अथवा नागरिकताको प्रमाणपत्र दिएर पठाउन सकिने आयोगले जनाएको छ । परिचयपत्र लिन आउनेका लागि आयोगले मतदाता शिक्षा पनि दिने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।