अन्तर्राष्ट्रिय

आफू मरेर गए पूरै परिवार जेलमा

By थाहा अनलाइन

May 07, 2018

एजेन्सी। आफ्नो मृत्यु हुनुभन्दा अघि आफ्नो परिवारको सुरक्षित भविष्यका लागि केही गरेर मात्र मरौं भन्ने धेरैको चाहना हुन्छ । धेरैजसोले सकेसम्म परिवारको लागि राम्रो गर्छन् । केही गर्न नसकेमा त्यत्तिकै छोड्छन् तर आफू मरेपछि परिवारलाई समस्यामा पारेर भने कोही जान चाहँदैनन् । तर, एक व्यक्तिले भने आफू त मरेर गए पूरै परिवारलाई जेल जानुपर्ने अवस्था सृजना गरिदिएका छन् ।

यी व्यक्तिले आफू मरेर जाँदाजाँदा परिवारका लागि समस्याको यस्तो खाडल खनेर गए जसबाच बच्न असम्भवजस्तै देखिएको छ । यी मर्ने व्यक्ति एक बैंकका शाखा प्रबन्धक हुन् । ती बैंक प्रबन्धकले आफू केही दिन मात्र बाँच्ने भन्ने थाहा पाएपछि आफ्नो अन्तिम इच्छा पूरा गर्न खोज्दा यस्तो भएको हो । घटना भारतको उत्तर प्रदेशको गोण्डा जिल्लामा भएको भारतीय दैनिक अमर उजालाले लेखेको छ ।

समाचारमा जनाइएअनुसार सर्व युपी ग्रामीण बैंकको चंदवतपुर शाखामा प्रबन्धक रहेका रावेन्द्र प्रकाश श्रीवास्तवले आफू केही दिन मात्र बाँच्छु भन्ने थाहा पाएपछि बैंकको ९० लाख ४३ हजार रुपैयाँ घोटाला गरे । उनले यो रकम आफ्नी पत्नी, छोराछोरी र नातेदारको खातामा ट्रान्सफर गरिदिए ताकि आफ्नो मृत्युपछि कुनै किसिमको समस्या नपरोस् । तर, रावेन्द्रको मृत्युपछि यो पैसाले उनकी श्रीमती तथा छोराछोरीलाई  यो घोटालाले निकै ठूलो समस्या पारेको छ ।

रावेन्द्रको पूरै परिवारविरुद्ध रकम अपचलन, धोकाधडी लगायतका अभियोगमा मुद्दा दर्ता भएको छ । बैंकका नयाँ शाखा प्रबन्धक अभय प्रताप सिंहले प्रहरीमा उजुरी दिएका हुन् । उजुरीमा सिंहले ९ जून २०१७ देखि ३० जनवरी २०१८ सम्म बैंकको प्रबनधक रहँदा रावेन्द्रले यो घोटाला गरेको बताएका छन् । त्यतिबेला बिरामी भएर जाँच गर्दा डाक्टरले रावेन्द्रलाई उनी ६–७ महिना मात्र बाँच्ने बताएका थिए ।

लगत्तै रावेन्द्रले बैंकमा खाता भएका ३४ जनाको नाममा ऋण मन्जुर गरिदिए । उनले ती ३४ जनाको नाममा बैंकबाट ऋण लिएर सो रकम आफ्ना परिवार र आफन्तको खातामा जम्मा गरिदिए । यही पैसाबाट उनले लखनउमा एउटा फ्ल्याट किने । २०१८ को ३० जनवरीमा रावेन्द्रको मृत्यु भयो । त्यसपछि आएका शाखा प्रबन्धकलाई कारोबारमा शंका लागेपछि जाँच गर्दा रावेन्द्रको घोटाला खुलेको हो । अब रावेन्द्रको यो अवराधको सजाय उनको परिवारले भोग्नुपर्नेछ