ब्लड बैंक तुलसीपुरमा फ्रिजको अभाव , रगत दान गर्न पाउँदैनन् दाताहरु



 

दिपक बोहरा, तुलसीपुर २५ बैशाख । राप्ती अञ्चल अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न भनेर एक समूह त्यहाँ पुग्यो । १२÷१३ जनाको समूह मध्य ७ जनाले मात्रै रक्तदान गराउन पाए । अन्यले भने रक्तदान गर्न चाहेपनि दान गर्न पाएनन् । रक्तसञ्चार केन्द्रले नै उनीहरुको रगत लिन अस्वीकार ग¥यो । रगत राख्ने फ्रिजको क्षमता कम भएकाले थोरै मात्रै रगत स्टक गर्न सकिने भन्दै रगत लिन अस्वीकार गरियो । अहिले अञ्चल अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा एबि पोजिटिभ बाहेक अन्य रगत समुह भएका दाताहरु गएमा रगत स्टक राख्ने क्षमता नभएको भन्दै रगत लिन अस्वीकार गरिन्छ । एबि पोजिटिभ रगत दुर्लभ भएकाले एबि प्लस बाहेक अन्य रगत समुहका दाताहरु आएमा फर्काउने गरिने रक्त सञ्चार केन्द्र प्रशासनले प्रतिक्रिया दिएको छ । अहिले उक्त रक्तसञ्चार केन्द्रमा ३० प्वाईन्ट रगत मात्रै स्टक गर्ने फ्रिज छ । कुनै पनि समय अन्य रक्त समुहको रगत मागियो भने केन्द्रले रगत दिन सक्ने अवस्था छैन ।

जसले गर्दा धेरै रक्तदाताहरु आएमा सबैको रगत लिन नसकिने रक्त सञ्चार केन्द्र तुलसीपुरका ईञ्चार्ज सरिता रेग्मीले बताईन् । ‘३० प्वाईन्ट रगत मात्रै स्टक गर्न सक्ने क्षमताको फ्रिज रहेको छ, उनले भनिन्‘ जसले गर्दा त्यो भन्दा बढि रगत लिन सक्ने अवस्था छैन ।’ रक्तदान गर्न आएका दाताहरु भने त्यतिकै फर्कनु पर्ने बाध्यता रहेको भन्दै दुःख ब्यक्त गरे । ‘कहिलेकाही रगत अभावमा छट्पटाउनु पर्ने अबस्था हुन्छ’ रक्तदानमा सहभागी भरत भट्टराईले भने‘ कहिल्यै दान गर्न आएको रगत पनि फिर्ता हुन्छ ।’ रक्त सञ्चार केन्द्रले रक्तदान गर्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै दान गर्न आएका रक्तदाताहरुलाई फर्काउन सकारात्मक पक्ष नभएको उनको भनाई थियो ।

अहिले आवश्यकता अनुसारको रगत राख्ने फ्रिज नभएकाले यस्तो समस्या आएको रक्त सञ्चार केन्द्र सञ्चालक संस्था नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्यले बताए । ‘तुलसीपुर केन्द्रमा सानो फ्रिज छ’ उनले भने‘जसले गर्दा समस्या निम्तिएको छ ।’ तुलसीपुर केन्द्रमा ८÷९ सय प्वाईन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आबश्यकता परेको उनको भनाई थियो । धेरै दाताहरु भएको अबस्थामा पहिलै जानकारी दिएमा आफुहरुले अन्य बिकल्प प्रयोग गरेर भएपनि रक्तदान गर्ने वातावरण मिलाउने बताए । साथै उनले रगत ३५ दिनभन्दा बढि राख्न नमिल्ने भन्दै त्यही अनुसार स्टक राख्ने गरेको प्रतिक्रिया दिए । ‘रगत ३५ दिनभन्दा बढि दिन राख्यो भने प्रयोग गर्न मिल्दैन’ उनले भने‘ त्यसैले आवश्यकता अनुसार मात्रै रगत स्टक गर्ने गरेका छौं ।’

अञ्चल अस्पताल परिसरमा समाजसेवी बामदेव उपाध्यायले आफ्नी दिवंगत श्रमिती कालिकादेवीको स्मृतिमा निमार्ण गरिदिएको कालिकादेवी रक्त सञ्चार भवनमा गतबर्ष भदौमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको थियो । रक्त सञ्चार केन्द्र सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाले १० लाख रुपैया वजेट विनियोजन गरेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्